
काठमाडौं, चैत्र २९ । कोरोना भाइरसका कारण संसार ठप्प छ । चीनको वुहान शहरबाट विश्व भ्रमणमा निस्केको कोरोनाले एक लाख मानिसलाई निलिसकेको छ भने १७ लाखभन्दा बढी मानिस यसको चपेटमा आएका छन् ।
चीन कोरोना नियन्त्रण गरेर संसारभर कोरोनाविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यापार गर्दैछ । विश्वको एकल महाशक्ति राष्ट्र भनिएको अमेरिका अदृश्य भाइरससँग हायल कायल बनेको छ ।
अमेरिका आफ्नै चंगुलबाट बाहिर निस्कन नसक्दा चीनले स्वास्थ्य सामग्री मात्र संसारभर पठाएको छैन उसले आफ्नो प्रभाव पनि एकसाथ बढाइरहेको छ । अमेरिकी मित्र राष्ट्र मात्र होइन स्वयं अमेरिका मास्क र पीपीई जस्ता सामग्रीका लागि चीनको शरणमा परिरहेको छ ।
यस्तोमा संसार कोरोनाको कहरबाट विस्तारै फुत्कने प्रयासमा रहेका छन् । चीनले वुहानमै जनजीवन खुकुलो पारिरहेको छ ।
उता पश्चिमी मुलुकका केही देश विस्तारै कोरोनाको प्रभावबाट समाजलाई खुकुलो पार्दैछन् । चेक गणराज्यले हार्डवेयर र साइकल जस्ता पसल खोल्न खुकुलो पारेको छ । त्यहाँका मानिसले त्यस्ता पसलमा सामान किन्न, टेनिस खेल खेल्न, पौडी खेल्न सक्ने छुट दिइएको छ ।
आस्ट्रियाले ईस्टर सकिएलगत्तै साना साना पसलहरु खोल्ने तयारी गरिरहेको छ । डेनमार्कले आगामी हप्तादेखि किन्डरगार्टन र स्कूल खोल्ने तयारी गरेको सिएनएनले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको अवस्था स्थीर रहेमा नर्वेका बच्चा आ–आफ्ना किन्डरगार्टेनमा फर्कन सक्नेछन् । पश्चिममा यिनै देशले कोरोना भाइरस संक्रमण रोक्न सरकारले लगाएको बन्देज विस्तारै खुकुलो भएको अनुभूति गर्नेछन् ।
प्रतिबन्धहरु विस्तारै खुकुलो पार्न लागिएको खबरले मानिसहरु निकै नै उत्साहित पनि देखिएका छन् । दुई हप्ता घरकोठामै थुनिनु पर्दा जागीरको अर्थ र महत्व झन् बढेको उनीहरुले प्रतिक्रिया दिएका छन् । तर यस्ता स्थानहरुमा जम्मा हुँदा केही नियमहरुको भने पालना गर्नु अनिवार्य गरिएको छ ।
अक्सफोर्ड साद बिजनेस स्कूलका एक स्वास्थ्य विशेषज्ञ डा. पीटर ड्रोबाकले यि देशले प्रतिबन्धलाई कम गर्दा पश्चिमकै लागि ‘महत्वपूर्ण र आशावादी उदाहरण’ हुने बताए ।
हुनत विश्व स्वास्थ्य संगठनका यूरोप क्षेत्रीय निर्देशक डा. हन्स क्लूजले यूरोपको अवस्था अझै पनि चिन्ताजनक रहेको भन्दै बन्दाबन्दी खोल्न नहतारिन सचेत गराएका थिए ।
उसोत यस प्रकोपबारे गरिएको एक अध्ययनले पनि भाइरसविरुद्धको खोप र औषधि नमिल्दासम्म विश्वमा बन्दाबन्दीलाई पूर्ण रुपमा खोल्न नहुने सुझाव दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्