१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आठ ठाउँमा गनिँदैछ काठमाडौंको मत, परिणाम आउन १५ दिन लाग्ने अधिकारीको भनाइ


2.249k
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पटकपटक जेठ ५ भित्र मत परिणाम सार्वजनिक गर्ने दाबी सार्वजनिक भइरहँदा काठमाडौं उपत्यकामा एक चौथाई मतगणना हुन सकेको छैन ।

मतदाताको ठूलो चाप, क्रस भोटिङ, ठूलो आकारको मतपत्र र सबै जनप्रतिनिधिको शंका निवारण गर्नुपर्ने अवस्थाले गर्दा मतगणना प्रभावित हुने गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सम्पूर्ण परिणाम सार्वजनिक हुन कम्तिमा १५ दिन लाग्छ ।

महानगरको मतगणना बैशाख ३१ गतेबाट शुरु भएको हो । शुरुमा तीन ठाउँमा मतगणना गर्दा गति नबढेको भन्दै आलोचना भएपछि अहिले गणनास्थल बढाएर आठ ठाउँ पुर्‍याइएको छ ।

आठ ठाउँबाट गणना हुन थाले पनि मतदाताको व्यग्रतामाथि त्यसले न्याय गर्न सकेको छैन । कर्मचारी बढाए पनि निर्वाचन प्रणालीमै सुधार गरी प्रविधिमैत्री नभएसम्म आलोचनाबाट मुक्ति पाउन असम्भव रहेको अर्का मुख्य निर्वाच अधिकृत बाबुराम खतिवडा बताउनुहुन्छ ।

काठमाडौंमा १ लाख ९७ हजार मतदाताले मतदान गरेका छन् । मतगणनाको पाँच दिनमा आइपुग्दा मतगणना पचास हजार कटेको छैन ।

अरुतिरका मतपरिणाम धमाधम सार्वजनिक हुँदा काठमाडौंमा देखिएको कछुवा गतिले आम मतदाता, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी वाक्क भएका छन् । यसको उपचार खोजिनुपर्ने उनीहरूको राय छ ।

जसरी ढिलो न्याय दिनु न्याय नदिन बराबर हो भनिन्छ, त्यसरी नै मतगणनाको सूचनामा ढिलाई गरिनु पनि मतदातामाथिको अपमान हो । त्यसैले आगामी दिनमा मत परिणाम मात्र होइन, मतदान प्रक्रियालाई नै प्रविधिमैत्री बनाउन आवश्यक छ ।