
काठमाडौं, चैत्र २९ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू जस्तो नैतिक र सदाचारी अरु नभएको दावी गरेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करोडौं कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिन बाध्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले एक जनाले प्रश्न उठाउनसाथ आफूले छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको तर्कसमेत गरेका छन् ।
उनले इमानदारिता र नैतिकतामा आफू पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टको समान रहेको जिकीर पनि गरेका छन् ।
सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टबाहेक अरूले आफूले जसरी राजीनामा नदिएको तर्क बाँस्कोटाले गरेका हुन् ।
आफूलाई अनैतिक र भ्रष्ट भन्नेलाई उनले उडाउँदै भनेका छन्, ‘बात गर्छन् ।’
आफ्नो सामाजिक सञ्जालमा बाँकोटा लेख्छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ । सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् !’
एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!
— Gokul Prasad Baskota (@GokulPBaskota) April 11, 2020
तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडिओ सार्वजनिक भएपछि गत फागुन ८ गते राजीनामा दिन बाध्य भएका थिए ।
प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित घरमा बस्ने बाँकोटा राजीनामापछि केही समय चूप रहेपनि केही समययता फेरि सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।
आफ्नानिकट बाँस्कोटाको बचाउमा प्रधानमन्त्री ओली स्वयं उत्रिँदा उनको आलोचना समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्