१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रधानमन्त्री ओलीले गरे दाहालको ‘सर्वदलीय संयन्त्र गठन’ प्रस्ताव ठाडै खारेज


0
Shares

काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय संयन्त्र गठनको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसका कारण उत्पन्न संकटको समाधान गर्न सर्वदलीय संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरसका कारण उत्पन्न संकट र सरकारहरुले गरिरहेको प्रयासकाबारेमा छलफल गर्ने क्रममा उक्त प्रस्तावको औचित्य नै नरहेको बताएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको भिडिओ संवादमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको भन्दै सरकारले नै प्रभावकारी ढंगले काम गरिरहेको जिकीर गरे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले, सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको र घरमा बसेर १५ दिनका बीचमा एक पटक निर्देशन दिनेजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारेका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार इमेज च्यानल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै, प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने माग गरेका थिए ।

दाहाले संकटका बेला सरकार एक्लैले सबै काम गर्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अरु दलका नेतासमेत सम्मिलित सर्वदलीय संयन्त्र बनाउनुपर्ने माग गरेका थिए ।

यस्तो संयन्त्रबारे कांग्रेसले आफ्नो धारणा प्रष्ट नगरे पनि समाजवादी दल र साझा पार्टीले भने सर्वदलीय संयन्त्र गठनको माग गरेका थिए ।

तर शनिबार अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले संयन्त्र अनावश्यक रहेको मात्र भनेनन् १५ दिनको बीचमा एक पटक निर्देशन दिने जस्ता काम नगर्नसमेत चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले काम गरुन् भन्दै शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्न पनि प्रष्ट गरेका छन् ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्ना प्रदेशमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी गराएका थिए ।