१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरमा कांग्रेस र एमालेले ३/३ पालिका जिते

माओवादीले २ र स्वतन्त्र एक विजयी

247
Shares

भोजपुर । भोजपुरमा ९ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेस र नेकपा एमालेले ३३ पालिका, नेकपा माओवादी केन्द्रले २ पालिका तथा स्वतन्त्र उम्मेद्वारले १ पालिका मेयरमा विजयी हासिल गरेका छन् ।

सत्ता गठबन्धनका ४ दल र नेकपा एमालेबीच भएको चुनावी प्रतिस्पर्धामा यस्तो परिणाम आएको हो । जसमा कांग्रेसले भोजपुर नगरपालिका, अरुण र टेम्केमैयुङ गाउँपालिका तथा नेकपा एमालेले षडानन्द नगरपालिका, पौवादुङमा र हतुवागढि गाउँपालिकामा विजयी हासिल गरेको हो भने आमचोक र रामप्रसाद राई गाउँपालिकामा माओवादी केन्द्र र साल्पासिलिछो गाउँपालिका स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।

जसअन्तर्गत भोजपुर नगरपालिकाको मेयरमा कांग्रेसका कैलाशकुमार आले विजयी हुनु भएको छ । उहाँले एमालेका भरतकुमार तामाङलाई ५५१ मतले पराजित गर्नु भएको हो । मेयरमा निर्वाचित आलेले ५ हजार ६१५ मत र उहाँको निकटतम प्रतिस्पर्धी एमालेका तामाङले ५ हजार १०० मत प्राप्त गरेका थिए ।

उपमेयरमा भने एमालेकी निर्मला शेर्पाले ५ हजार ५०० मत र उहाँको निकटतम प्रतिस्पर्धी राईले ५ हजार १३३ मत प्राप्त गरी शेर्पा विजयी हुनु भएको छ ।

यता जिल्लाको पुर्वी अरुण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शालिकराम खत्री विजयी हुनु भएको छ । उहाँले २ हजार ८८७ मत एमालेका नारायण प्रसाद घिमिरेले २ हजार ४२४ मत प्राप्त गर्दा खत्रीले ४६३ मत प्राप्त गर्नु भएको हो । त्यस्तै उपमेयरमा कांग्रेसकी बिनिता ढकालले ३ हजार मत र निकटतम प्रतिस्पर्धी एमालेकी कविता राईले २ हजार ५४४ मत प्राप्त गर्दा ४५६ मतले ढकाल विजयी हुनु भएको हो ।

त्यस्तै आमचोक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अशोक राई विजयी हुनु भएको छ । उहाँले कुल ३ हजार ६८६ मत र निकटतम प्रतिस्पर्धी एमालेका बसन्त राईले ३ हजार २५८ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा एमालेकी सीता राईले ३ हजार ५६१ मत र कांग्रेसका छिरिङ शेर्पाले ३ हजार २२४ मत प्राप्त गर्नु भयो ।

पौवादुङमा गाउँपालिकाको अध्यक्षमा एमालेका किरण राई विजयी हुनु भएको छ । उहाँले २ हजार ४९९ मत ल्याई विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नगेन्द्र बहादुर भुजेलले १ हजार ६८८ मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा एमालेकी ज्योत्सना राईले २ हजार ४०६ मतले विजयी हुनु भएको हो । निकटतम प्रतिस्पर्धी माओवादि केन्द्रकी सम्झना राईले १७६९ मत प्राप्त गर्नु भयो ।

जिल्लाको रामप्रसादराई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका थाम बहादुर राई विजयी हुनु भएको छ । सत्ता गठबन्धन दलबाट उम्मेरदवार बनेका उहाँले ३ हजार ७७ मत पाएर अध्यक्ष जित्दा एमालेका बलरामले २ हजार ८५१ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि गठबन्धनबाटै कांग्रेसका वीरेन्द्र राईले ३ हजार ५७७ मत र एमालेका कमला देवी राईले २ हजार २१४ मत ल्याएर वीरेन्द्र राई विजयी हुनु भएको छ ।

यता, हतुवागढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रेमकुमार राईले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गजेन्द्र कार्कीलाई ६८९ मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनु भएको हो । दोस्रो कार्यकालका लागि निर्वाचित बनेका राईले ४ हजार ४० मत र उहाँको निकटतम प्रतिद्वन्द्वी कार्कीले ३ हजार ३५३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी सुनिता किराँतीले ३ हजार ७०७ मत ल्याई विजयी हुनु भएको हो ।

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा भने स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ विजयी हुनु भएको हो । एमालेले शान्ति अधिकारीलाई टिकट दिएपछि विद्रोह गरेर अध्यक्षमा उठेका उहाँले निवर्तमान गाउँपालिका अध्यक्ष महेश राईलाई २८ मतान्तरले पराजित गर्दै उनी विजयी हुनु भएको हो । पालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसकी अस्मिता कुलुङ १८ सय ६२ मतसहित विजयी हुनु भएको हो ।

टेम्केमैयुङ गाउँपालिकामा कांग्रेसका सरोज बस्नेत अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले एमालेका धुव्रराज राईलाई ७२५ मतले पछि पार्दै चुनाव जित्नु भएको हो । उपाध्यक्षमा भने एमालेकी रमादेवी राई निर्वाचित हुनु भएको हो । उहाँले गठबन्धन तर्फकी इन्द्रावती राईलाई ९० मतले पछि पार्दै चुनाव जित्नु भएको हो ।

यता, षडानन्द नगरपालिकामा एमालेका सुरेन्द्र कुमार उदास विजयी हुनु भएको हो । प्रत्याशी नेपाली कांग्रेसका विरवल राईलाई उहाँले पराजित गर्नु भएको हो भने उपाध्यक्षमा गठबन्धन तर्फ माओवादी केन्द्रकी प्रमीला राईले एमालेकी मेरिका राईलाई पराजित गर्नु भएको हो ।

जिल्लाका सबै स्थानीय तहको मत परिणमसगैँ अब गठन हुने जिल्ला समन्वय समितिमा गठबन्धन दलले नै नेतृत्व गर्ने देखिन्छ ।