१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवाको पत्र र प्रचण्डको चेतावनीका बावजुत लालबन्दीमा कांग्रेसको जित


7.54k
Shares

सर्लाही । पटक–पटक केन्द्रले उम्मेदवारी रोक्न खोज्दा समेत लालबन्दी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले बाजी मारेको छ ।

मेयरमा बासुदेव अधिकारी १ हजार ६७८ मतान्तरले विजयी हुनुभयो । उहाँले ९ हजार ५६१ मत पाउदा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर महतले ७ हजार ८८३ मत मात्र प्राप्त गर्नुभयो ।

उपमेयरमा कांग्रेसकै कल्पना माया पाख्रिन ६७१ मतान्तरको विजयी हुनुभएको छ । उहाँले ८ हजार ८५० मत पाउँदा प्रतिस्पर्धी एमालेकी सन्सरीमाया थिङले ८ हजार १५९ मतमात्र प्राप्त गर्नुभयो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बने पनि उनीहरू तेस्रो स्थानमा झरेका छन् ।

माओवादीबाट मेयरका उम्मेदवार प्रल्हादकुमार बुढाथोकीले ६ हजार १७५ र एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार गोविन्दप्रसाद अधिकारीले ३ हजार ६४१ मत प्राप्त गर्नुभयो ।

केन्द्रले सुरुमा अधिकारी र पाख्रिनलाई टिकट दिएको भए पनि गठबन्धनलाई सघाउने भन्दै बैशाख १६ गते अन्तिम नामावली प्रकाशन गर्ने दिन उम्मेदवारी फिर्ता लिन पत्र पठाएको थियो ।

उम्मेदवारी फिर्ताको समयपछि ईमेल प्राप्त भएको भन्दै निर्वाचन अधिकृतको कार्यालय लालबन्दीले उनीहरूलाई कांग्रेसको तर्फबाट उम्मेदवार कायम राखेको थियो ।

पुनः बैशाख १९ गते गठबन्धनका उम्मेदवारलाई सहयोग गर्नु भनि नेपाली कांग्रेसको केन्द्रीय समितिले जिल्ला सभापतिलाई सम्बोधन गरेर पत्र पठाएको थियो । तर, उम्मेदवारी र प्रचारप्रसारमा अघि बढिसकेको भन्दै अटेर गरेको थियो ।

यसबीच निर्वाचन प्रचारका लागि लालबन्दी आउनभुएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको विरुद्ध लालवन्दी कांग्रेस लागेको भन्दै कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिनुभएको थियो ।