
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभएको छ ।
करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरूमा भने जेठ ५ गते विद्यार्थीहरूको हातमा पुस्तक पुग्ने उहाँको दाबी छ ।
वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको कोइरालाले बताउनुभयो ।
उहाँले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताउनुभयो ।
शिक्षा सचिव कोइरालाले समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने बताउनुभयो ।
सरकारले समयमै पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यामिक तहसम्मका विद्यार्थीहरुले शैक्षिक सत्र सुरु हुँदासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन् ।
विशेष गरी कक्षा ४,७ र ९ को पाठ्यपुस्तक नयाँ लागू भएको छ । तर, समयमा पाठ्यपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरू पाठ्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन् ।
विद्यालयहरूमा पाठ्यपुस्तक जेठको पहिलो हप्तासम्म पनि नपुग्नु शिक्षामाथि राज्यको हेलचेक्राँइ भएको अध्यापकहरूको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्