
नवलपुर । पूर्वी नवलपरासीका ८ स्थानीय तहमध्ये ६ वटामा एमाले र २ पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनभन्दा अहिले दलगत रुपमा उल्टो परिणाम आएको हो । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ६ र एमालेले २ पालिकाको नेतृत्व पाएको थियो ।
अहिले कांग्रेसले जितेका पालिकामा हुप्सेकोट गाउँपालिकालाई यथावत राख्न सफल भएको हो । पहिला गुमाएको गैंडाकोट नगरपालिकालाई फिर्ता ल्याएर २ पालिकामा कांग्रेस विजयी भएको हो । यसअघि कांग्रेसले जितेका मध्यविन्दु र देवचुली नगरपालिकामा एमालेले जितेको छ । त्यस्तै बौदीकाली, बुलिङटार र विनयी–त्रिवेणी गाउँपालिका पनि कांग्रेसको हातबाट एमालेमा गएको छ । यसअघि जितेको कावासोती नगरपालिका एमालेले यथावत राखेको छ ।
एमालेले जितेका पालिकामा मध्यविन्दु नगरपालिकाको मेयरमा भीमलाल अधिकारी र उपमेयरमा पूर्ण कुमारी चौधरी विजयी भएका छन् । कावासोती नगरपालिकाको मेयरमा विस्नु प्रसाद भुसाल र उपमेयरमा फुल कुमारी थनेत विजयी हुनुभएको छ ।
देवचुली नगरपालिकाको मेयरमा हरि न्यौपाने र उपमेयरमा पार्वता तिवारी विजयी हुनुभएको छ । उपमेयर तिवारी दोहारिनु भएको हो ।
एमालेबाट बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा दिल कुमारी सारु विजयी हुनुभएको छ । बुलिङटार गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र सुनारी मगर र उपाध्यक्षमा दिल माया राना मगर विजयी हुनुभएको छ । विनयी–त्रिवेणी गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती बैदवार एमालेबाट विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसले जितेका पालिकामा गैंडाकोट नगरपालिकाको मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ती कोइराला विजयी हुनुभएको हो । हुप्सेकोटको अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा पूर्णसिंह राना विजयी हुनुभएको छ । अध्यक्ष पाण्डे दोहोरिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्