१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कोरोना कहरः अमेरिकामा मृतकको संख्या २० हजार ५ सय कट्यो, एकैदिन १८ सय बढीको मृत्यु, बेलायतमा ९ सयको एकै दिन निधन


0
Shares

काठमाडौं, चैत्र ३० । अमेरिकामा एकैदिन १८ सय ३० जनाको मृत्यु हुँदा कोरोना भाइरसबाट मर्नेको संख्या २० हजार ५ सय नाघेको छ । यो कोरोनाबाट संसारमै सबैभन्दा बढी मानिसको मृत्यु हो ।

मृत्युको संख्यामा अब अमेरिकाले इटालीलाई पनि उछिनेको छ । इटालीमा १९ हजार ४६८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित पनि सबैभन्दा बढी छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख ३२ हजार नाघेको छ ।

उता बेलायतमा पनि कोरोनाबाट एकैदिन ९ सय १७ व्यक्तिको मृत्यु हुँदा मृतकको संख्या ९ हजार ८ सय कटेको छ । त्यहाँ लगातार दोस्रो दिन पनि ९ सय जनाको मृत्यु भएको हो । शुक्रबार पनि त्यहाँ ९८० जनाको मृत्यु भएको थियो । संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।

भाइरस संक्रमणका कारण विश्वभर भने मृत्यु हुनेको संख्या एक लाख ८ हजार नाघ्दा संक्रमित हुनेको संख्या १७ लाख ७९ हजार कटेको छ ।
१७ लाख ७९ हजार कोरोनाबाट संक्रमित भएका मध्ये चार लाख २ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ५० हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा स्पेनमा १६ हजार ६ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ६३ हजार नाघ्दा इटालीमा पनि संक्रमितको संख्या १ लाख ६३ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १३ हजार ८ सय नाघेको छ । इरानमा मृतकको संख्या ४३ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३९ छ । जर्मनीमा मृत्यु हुनेको संख्या २८ सय नाघ्दा बेल्जियममा ३३ सय नाघेको छ भने नेदरल्याण्डस्मा २६ सय नाघेको छ ।

भारतमा २८८ जनाको मृत्यु हुँदा ८ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् । (एजेन्सी)