२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी


1.625k
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा रहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९\०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद चौधरीले कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा पुगेको बताउनुभया े। उहाँले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भिरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताउनुभयो ।

सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च भएको आरोप लगाउनुभयो । उहाँले अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडिको ड्राइभर बदलिँदैमा गाडिले तीव्र गति नलिने बताउनुभयो । अहिलेको अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि जिकिर गर्नुभयो ।

सांसद चौधरीले पछिलो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत निर्यात गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशी रअ मेटियलमा आधारित वस्तुको नेपालले निर्यात गरेर व्यापार घाटामा रहेको ठूलो खाडल पुर्न नसक्ने बताउनुभयो । सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तिमा पनि १५ हजार मेगावाट बढी विद्युत बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउन पर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रम मार्फत जलविद्युतमा छुटै नीतिगत व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसद चौधरीले शेयर बजारमा धेरै लगानीकर्ताको पुँजी डुबेकाले आगामी बजेटले क्यापिटल मार्केटमा तरङ्ग ल्याउने किसिमको नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक व्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको बताउनुभयो । चौधरीले राष्ट्र बैंकसँग भएको ५ सय अर्ब भन्दा बढी पुँजी बजारमा ल्याउन माग गर्नुभयो ।