
काठमाडौं । नेपालमा बालिका, किशोरी र महिला बलात्कारको घटना सामान्यकृत हुने डरलाग्दो अवस्था देखिन थालेको छ ।
एकपछि अर्को गर्दै सार्वजनिक हुने बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई दण्डको कठघरामा नल्याइँदा अपराधीको मनोबल उँचो हुने अवस्था देखिएको छ ।
पछिल्लो पटक फेरि अर्की एक युवतीमाथि आठ वर्षअघि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । तर, एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने हदम्याद देखाएर मुद्दा नलिइएपछि समाजमा आक्रोश देखिएको छ ।
आक्रोशकै बीच महिला र अधिकारकर्मीहरूले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि बलात्कार विरुद्ध प्रदर्शन गरे ।
आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै प्रदर्शन गरिएको हो ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोमार्फत् ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको उनले सार्वजनिक गरेकी छन् ।
पीडितले भिडियोमार्फत घटना सार्वजनिक गरेसँगै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि बलात्कारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले पीडित किशोरीलाई न्याय दिलाउन माग गरेका छन् ।
प्रदर्शनकारीले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्ने माग राखेका छन् ।
मुलुकी ऐनमा बलात्कारविरुद्ध एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद तोकिएकाले सोही व्यवस्थालाई देखाउँदै पीडित युवतीको निवेदन नै नलिएपछि प्रधानमन्त्रीकै ध्यानाकर्षण गराउन प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका हुन् ।
बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत जानकारी दिएसँगै उनको समर्थन र बलात्कारविरुद्ध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी भएकाहरूले यौन हिंसामा परेकी युवतीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवासँग अपील गरेका छन् ।
यता प्रहरीले पीडित पक्ष सम्पर्कमा आए अनुसन्धान गर्ने बताएकाे छ । आफूहरू घटनाको बारेमा एकदमै संवेदनशील रहेको भन्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पीडितलाई प्रहरीकोमा आएर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
यसअघि सार्वजनिक भएका र प्रहरीसम्म पुगेका निर्मला पन्त बलात्कारपछिको हत्या प्रकरणलगायतका मुद्दामा अझै पनि अपराधी पक्राउ नपर्नुले न्याय पाउनेमा पीडितमा आशंका थप्दै गएको छ ।
दैनिकजसो हुने गरेका बालिका, किशोरी, महिला बलात्कारको डरलाग्दो चित्र उदांगो हुँदा पनि दोषीलाई दण्डको कठघरामा उभ्याउन नसक्ने हो भने बढ्दो दण्डहीनताले समाजमा अराजकता ननिम्त्याउँला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्