२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सर्लाहीको कविलासी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी


130
Shares

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसका ब्रम्हदेव राय र उपमेयरमा पुनम कर्ण निर्वाचित भएका हुन् । मेयरमा कांग्रेस उम्मेदवार राय ६ हजार ४ सय ४४ मतसहित निर्वाचित हुनुभएको हो । रायले निकतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश रायलाई १ हजार ७ सय ८१ मतान्तरले पराजित गर्नुभएको हो । रामनरेशलाई ४ हजार ६ सय ६३ मत प्राप्त भएको थियो । त्यसैगरी उपमेयरमा विजयी कर्णले ६ हजार ९ सय ७ मत प्राप्त गर्नुभयो । कर्णका निकतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी उम्मेदवार तथा निवर्तमान उपमेयर राधादेवीलाई ४ हजार ९ सय १६ मत प्राप्त भएको थियो ।

तत्कालीन राष्ट्रिय जनता पार्टीबाट यस अघि मेयर बन्नु भएका कौशल किशोर यादवले यसपटक टिकट नपाएपछि चुनावमा एमालेबाट उम्मेदवार बन्नु भएको थियो । तर उहाँ तेस्रो नम्बरमा रहनुभयो । कौशलकिशोर यादवले भने ३ हजार ५ सय १८ मत मात्र प्राप्त गर्नु भएको थियो । त्यसैगरी राधादेवी पनि निवर्तमान उपमेयर हुनुहुन्छ । दुबै जनालाई हराउँदै कांग्रेसले यस पटकको स्थानीय तह निर्वाचनमा जित हात पारेको हो ।

१० वडा रहेको कविलासीमा ६ वटा वडामा कांग्रेस, २ वडामा जसपा तथा एक–एक वडामा एकीकृत समाजवादी र एमालेका वडा अध्यक्ष उम्मेदवार विजयी भएका छन् ।