५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अमेरिकी विशेष संयोजक जिया काठमाडौंमा


481
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिलाका विशेष संयोजक उज्रा जिया शुक्रबार नेपाल आउनुभएको छ ।

नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ ।

नेपालमा रहँदा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुहुने छ । काठमाडौंमा शुक्रबार नेपालस्थित अमेरिकी दुतावासले गरेको एक कार्यक्रममा उहाँले नेपाली कलाकार एवं तेस्रो लिगीं अधिकारकर्मी भूमिका श्रेष्ठलाई इन्टरनेशनल वुमन अफ करेज २०२२ अवार्ड समेत प्रदान गर्नुभयो ।

जियाले शनिबार काठमाडौंमा रहेका तिब्बती शरणार्थी र समुदायसँग पनि भेटघाट र अन्तरकृया गर्ने जनाएको छ । उहाँले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री, गृहमन्त्री, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायत सँग भेटवार्ता गर्ने जनाइएको छ ।

तिब्बतीहरुको मानवअधिकार, धार्मिक, भाषिक र सांस्कृतिक पहिचानकालागि पैरवी गर्न उहाँलाई जिम्मेवारी दिइएको छ । नेपाल आउनु अघि उपमन्त्री जियाले निवार्सित तिब्बती धर्म गुरु एवं नेता दलाई लामा, निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङ सहित अन्य उच्च प्रतिनिधिहरुसँग बिहीबार भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा भेटवार्ता गर्नु भएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन र नेपाल अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको अवसरमा एक दशक पछि उहाँको उच्चस्तरीय भ्रमण भएको हो । तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको पनि विशेष चासो रहँदै आएको छ । जियाको नेपाल भ्रमणलाई लिएर नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृह मन्त्री बालकृष्ण खाँण सँग भेटगर्नुभएको थियो ।

नेपाल अमेरिकाबीच सन् १९४७ अप्रिल २५ मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।