
वीरगञ्ज, चैत्र ३० । वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गरिने भएको छ । तीन जना कोभिड–१९ का संक्रमित भेटिएपछि उक्त क्षेत्र शिल गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ को संक्रमण फैलनबाट रोक्न शिलबन्दी जरुरी देखिएकोले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको हो ।
छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको हो ।
त्यस्तै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर उनीहरुको र्यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २, छपकैया स्थित मस्जिदहरुमा रहेका २६ जना भारतीय नागरिकको थ्रोट स्वाब परीक्षण गर्दा ३ जनामा कोभिड– १९ पोजेटिभ देखिएपछि उनीहरु बसेको वीरगञ्ज– २ छपकैया आसपास क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरिएको हो ।
यस्तै बैठकले वीरगञ्जमा छुट्टै कोरोना विशेष अस्पताल बनाउने निर्णय पनि गरेको छ ।
संक्रमित तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ । कोरोना संक्रमण भेटिएका ३ जनामध्ये २ जना भारत उत्तर प्रदेश र एक जना दिल्लीका बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस्