१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलात्कृत युवतीलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन


728
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ ।

‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरूले घटनाकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । बलात्कार घटनाका पीडित ती युवतीलाई न्याय दिलाउने कार्यमा सहयोग गर्न पनि सबैलाई अपिल गरिएको छ ।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धि घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले बलात्कारमा परेका पीडितलाई न्याय दिलाउने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।

एक युवतीले आठ वर्ष अघि सौन्दर्भ प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटकमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसको विरोधमा शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरिएको थियो ।

संघीय संसद प्रतिनिधिसभाका सांसदहरूले पनि पीडित ती युवतीलाई न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका थिए ।