
बुटवल । नेपाली कांग्रेसले बुटवल उप–महानगरपालिकामा २ दशकअघिको शाख फर्काएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे जित हासिल गर्नुभएको हो ।
यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जित्नुभएको हो ।
पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गर्नुभयो । बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ ।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले १०, १४, १८ र १९ वडामा मात्र जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २ दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बन्नुभएको थियो ।
२०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित हुनुभएको थियो । मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बन्नुभयो । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित हुनुभएको थियो ।
२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । २०५१ सालको मध्यावधी निर्वाचनमा खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित हुनुभएको थियो ।
पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित हुनुभएको थियो ।
८ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी हुनुभएको थियो । उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो ।
तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ ।
पाण्डेको जितसँगै बुटवलबाट एमालेको दबदबा हटेको छ । बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको शक्ति समेत एमालेबाट खोसिने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्