१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नव निर्वाचित भोजपुरका मेयर प्रचारसामाग्री सफा गर्नमै व्यस्त


1.872k
Shares

भोजपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार र पार्टीले प्रचारप्रसारका लागि टाँसेका पर्चा, पम्पलेट, व्यानरलगायतका सामाग्रीले भोजपुर बजारलाई कुरुप बनाएको छ ।

चुनावमा जित हार जे भए पनि बजारलाई सफा, सुन्दर र राम्रो राख्ने जिम्मेवारी सबैको हो । तर केही उम्मेदवारले मात्र आफ्ना प्रचार सामाग्रीको व्यवस्थापन गरे पनि धेरैजसो भने उदासिन देखिन्छन् ।

नव निर्वाचित भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले जितको खुशीयालीसगैँ नगरलाई सफा, सुन्दर र रमणीय बनाउन तर्फ लागेका छन् । उनी अहिले यसरी निर्वाचनमा आफूले टाँसेका प्रचारसामाग्री सफा गर्नमै व्यस्त देखिन्छन् । उनी र उनको प्रचार समूह अहिले चुनावका बेला टासेका प्रचार प्रसारका सामग्री हटाउदै हिडेको देखिन्छ ।

सुन्दर नगरको परिकल्पना गरेका मेयरले चुनावका बेला प्रचारप्रसारका लागी टोल, गाऊ, घर, पार्टीपौवा, तथा सार्वजनिक क्षेत्रमा टाँसिएका पर्चा पम्पलेटहरुलाई हटाएर सुन्दर नगर निर्माणको सुरुवात गरेका छन् । अरु बिजयी प्रतिनिधिहरुलाई बिजयउत्सव मनाउन भ्याईनभ्याई हुँदा उनलाई भने नगरलाई सफा, सुन्दर र रमणीय बनाउने चटारो छ । उहाँले आ– आफनो पार्टीले टासेको पर्चा पम्पलेट हटाई सुन्दर नगर निर्माणका लागी सहयोग गर्न सबै बिजयी प्रतिनिधिसँग आग्रहसमेत गर्नुभएको छ ।

पर्चा पम्पलेटले कुरुप बनाएको नगरको मुहारलाई सुन्दर बनाउन सम्बन्धित सबै पार्टी र उम्मेदवारको जिम्मेवारी रहेको छ । तर, यता तर्फ ध्यान दिने फुर्सद भएको कसैलाई देखिदैन् । सबै बिजयी प्रतिनिधिहरु बिजय उत्सव मनाउनैमा व्यस्त छन् । स्थानीय बजारबासीले समेत पार्टीले प्रचारप्रसारको क्रममा टाँसेको प्रचारप्रसार समाग्री हटाईदिन आग्रह गर्दै आएका छन् । घर–घरका भित्तामा टाँसिएका कागज, गम, थनपिन र चुनाव सामाग्रीले सेता भित्ता कुरुप देखिएका छन् । सरोकारवाला, पार्टी र उम्मेदवारले अभियानै बनाएर सरसफाई गर्न आवश्यक रहेको स्थानीयवासीको भनाई छ ।

चुनावका बेला प्रर्चा पम्पलेट टाँस्नु स्वभाविक हो । तर चुनाव सकिएपछि हटाउनु सरोकारवाला सबैको दायित्व पनि हो । चुनाव प्रचारप्रसारका लागी जथाभावी पर्चा पम्पलेट टाँस्ने अनि चुनावमा जितेपछि वा पराजय भएपछि बेवास्ता गर्नेहरुका लागी नव निर्वाचित भोजपुर नगरपालिकाका मेयरले गरेको यो कार्य देशभरीका सबै उम्मेदवारहरुले सिक्न र गर्न आवश्यक छ ।