२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतको ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य


104
Shares

काठमाडौं । पर्वतको स्थानीय तहका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य, एक पालिका प्रमुखमा भने महिला विजयी पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुन सकेनन् ।

सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बन्नुभएको थियो ।

जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए । विहादी १ मा नेकपा (एमाले)का चित्रबहादुर गुरुङसँग खड्का पराजित हुनुभएको हो भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित हुनुभएको हो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित हुनुभएको थियो । यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

महिला उम्मेदवारको संख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन नसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो ।

जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।