३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


चुनावी परिणामको जोड घटाउमा सत्तागठबन्धन


2.119k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको झण्डै ९४ प्रतिशत मतपरिणाम आइसकेको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले पहिलो पार्टीको दर्जा पाएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले पहिलोबाट दोस्रो दलमा झरेको छ । तालमेल गरेर चुनावी मैदानमा गएका सत्तारुढ पाँच दलीय गठबन्धनभित्र नाफा घाटाका आ-आफ्नै जोड घटाउ चलिरहेका छन् ।

स्थानीय तह निर्वाचनबाट प्रतिपक्ष दल एमालेको औकात देखाइदिने भन्दै सत्तारुढ पाँच दलले गठबन्धनको निर्णय गरेका थिए । शीर्ष तहमा देशभर चुनावी तालमेल गर्ने निर्णय गरेपनि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले ७५३ मध्ये करिब एक तिहाई पालिकामा मात्र चुनावी तालमेल गर्न सफल भयो । तर, राम्ररी व्यवस्थापन गर्न नसक्दा तालमेल गरेका पालिकामा गठबन्धनले सोचे अनुसार सफलता पाउन सकेन ।

पाँच दलीय गठबन्धनको मुख्य उद्देश्य अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेलाई गलाउने रहेपनि सोचेअनुसार सफलता पाउन सकेन । कतिपय पालिकामा नेकपा एमाले उम्मद्वारले गठबन्धनका संयुक्त उम्मेदवारलाई पराजित गरेको छ । तर, चुनावी तालमेलकै कारण लामो समयदेखि एमाले गढको रुपमा रहेका कतिपय पालिकामा सत्तागठबन्धन एमालेको विरासत भत्काउन सफल भयो । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तीन दशकमा पहिलोपटक स्थानीय तहमा पहिलो पार्टी बन्न सफल भयो । सत्तारुढ दलका घटकसंग चुनावी तालमेल गरेरै कांग्रेसले एमाले किल्लाको रुपमा रहेको बुटबल, इटहरी उपमहानगर र किर्तिपुर, कागेश्वरी महनोहरा, बिहादी लगायतका पालिकामा आफ्नो वर्चस्व जमाउन सफल भयो ।

गठबन्धनकै अर्को घटक माओवादी केन्द्र बाराको जितपुर सिमरा नगरपालिका जस्तो एमाले विरासत विस्थापित गर्न सफल भयो । भदौमा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीले गडबन्धनकै बलमा पोखरा र हेटौडा उपमहानगरमा एमालेलाई पाखा लगाउन कामयाव भयो । सत्तारुढ गठबन्धनकै घटक जनता समाजवादी पार्टीलाई भने चुनावी तालमेलको अपेक्षित फाइदा देखिएन । एक्लै लड्दा पनि बलियो दलको रुपमा देखिने गरेको समाजवादी यसपटकको चुनावमा मधेशमै ढोडको लौरो सावित भयो । त्यतिमात्र हैन मधेशको नाममा राजनीति गर्ने दलहरुको मधेश कार्ड यसपटक खोटो सावित भयो । गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले विगतमा आफ्नो पडकमा रहेका पालिकालाई निरन्तरता दिएपनि गठबन्धनबाट फाइदा लिएर आफ्नो प्रभाव विस्तार गर्न सफल भएन । गठबन्धनकै कारण दोलखा, रामेछाप, ओखलढुंगा, जुम्ला लयायतका जिल्लामा एमालेले हात धुनुप¥यो ।

त्यसो त तालमेल गरेपनि पाँच दलीय गठबन्धन व्यवस्थापन मामलामा चुकेको देखियो । देशरैभर चुनावी तालमेल गर्न नसक्नु र भएका स्थानमा कार्यकर्तामा ऐक्यवद्धता नदेखिनु गठबन्धनको कमजोरीको रुपमा रह्यो । गठबन्धन गरेर चुनावी मैदानमा गएपनि घोराही, कलैया लगायतका पालिकामा एमालेको घर भत्काउन गठबन्धनको सामथ्र्य पुगेन । संख्यात्मक मत एमालेको पोल्टामा बढी देखिनु स्थानीय निकायमा उसको संयन्त्र द¥हो हुनुको प्रमाण हो । समग्रमा जुन उद्धेश्यका साथ चुनावी तालमेल गरेको थियो, त्यो उदेश्यमा गठबन्धन २५ प्रतिशत मात्र सफल भएको मान्न सकिन्छ । अहिलेको मत परिणामले गठबन्धन दलका सबै पार्टीमा महत्वाकांक्षा बढेको छ । नेताहरुले भने जस्तो अबको यात्रा त्यति सहज देखिदैन ।