
बुटवल । रुपन्देहीमा स्थानीय तह निर्वाचन अन्तर्गत पछिल्लो पटक नतिजा आएका बुटवल उपमहानगरसहित अन्य ६ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र गैंडहवा गाउँपालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरूले पद तथा गोपनियताको सपथ लिएका हुन ।
भैरहवाको बालमन्दिरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराउनुभएको हो ।
सोमबार सपथ लिनेहरूमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, सैनामैना नगर प्रमुख फणिन्द्र शर्मा, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्विन खांन रहेका छन् । त्यसैगरी मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरई, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोदकुमार श्रीवास्तव र गैंडहवा गाउँपालिका प्रमुख सुरेन्द्र पौडेलले पनि सपथ लिएका छन्। उनीहरूले आजै आ–आफ्नो पालिकामा अन्य जनप्रतिनिधिलाइ सपथ गराउने कार्यक्रम समेत रहेको छ ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्