
बारा । जितपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख राजन पौडेलले नगरभित्रका सामुदायिक विद्यालयमा भर्ना हुने १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई पोशाक उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
सोमबार शपथग्रहणसँगै पदभार ग्रहण गर्नुभएका पौडेलले ५ कक्षासम्मका विद्यार्थीलाई पोशाक उपलब्ध गराउने निर्णय गर्नुभएको हो । शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाएर निर्वाचित हुनुभएका उहाँले विद्यार्थीका लागि यस्तो निर्णय गर्नुभएको हो ।
यो निर्णयसँगै नगरभित्र सामुदायिक विद्यालयमा अध्ययनरत १७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
सामुदायिक विद्यालयको आधारभूत तहमा सर्वसाधारणका बालबालिका अध्ययन गर्ने हुँदा आफूले पहिलो निर्णय शिक्षासम्बन्धी गरेको पौडेलले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा जितपुरसिमरालाई मोडेल बनाउन आफूले बनाएको खाकामा थप निर्णयहरू गर्दै जाने उहाँको भनाइ छ ।
गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा विजयी उहाँ २०७४ को निर्वाचनमा पराजित उम्मेदवार हुनुहुन्छ । भ्रष्टाचारमा पहिलो र कार्यसम्पादनमा अन्तिमबाट दोस्रो बनेको उपमहानगरमा शुसासन कायम गर्नु पौडेका लागि चुनौतीपूर्ण छ ।
प्रतिक्रिया दिनुहोस्