
काठमाडौं । देशका ११ उपमहानगरपालिका मध्ये अब दुई वटा उपमहानगरको अन्तिम परिणाम घोषणा हुन बाँकी रहेको छ ।
अहिले तुलसीपुर र जनकपुरधाम उपमहानगरको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी १२ हजार २८३ मतसहित अगाडि रहदा एमाले उम्मेदवार शिवशंकर साह ९ हजार ३०३ मतसहित दोस्रो स्थानमा रहनुभएको छ ।
उता, दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेका टीकाराम खड्काले २० हजार ८९४ मतका साथ अगाडि रहँदा कांग्रेसका गेहेन्द्र गिरिले १८ हजार ९४० मतसहित पछ्याईरहनु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएको छ । कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।
यसअघि, कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्म्ेदवार गोपाल हमाल, सुनसरीको इटहरीमा कांग्रेसका हेमकर्ण पौडेल, बाँकेको नेपालगञ्जमा कांग्रेसका प्रशान्त विष्ट, दाङको घोराहीमा एमालेका नरुलाल चौधरी, बाराको कलैयामा एमालेका विनोदप्रसाद साह र बाराकै जितपुर सिमरामा माओवादीका राजन पौडेल निर्वाचित भइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्