३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


रुग्ण उद्योग सञ्चालन गर्ने तयारी


221
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’ सम्मेलनमा मन्त्री बडूले तत्काल स्वदेशी वस्तुको उत्पादन, रोजगारी बढाउनका लागि निजी क्षेत्रको सहभागितामा सरकारले रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताउनुभएको हो । रुग्ण उद्योग सञ्चालनकालागि मन्त्रालयको कार्यदलले मोडालिटी तयार गरिहेको बताउनुभयो ।

मन्त्री बडूले स्वदेशी उत्पादन र स्वदेशमै रोजगारी नबढाए अर्थतन्त्रमा सुधार हुन नसक्ने बताउनुभयो । अर्थतन्त्र उकास्नका निम्ति निर्यातमै जोड दिनुपर्ने मन्त्री बडूको भनाई छ । मन्त्री बडूले सरकारले आगामी आर्थिक वर्ष देखि स्वदेशी उत्पादन र उपभोग अभिवृद्धि अभियान २०७९/०८९ सम्मको अभियान चलाउन लागेको बताउनुभयो ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय मुलुक विदेशी मुद्रा सञ्चितिको दबाबमा रहेको बताउनुभयो । उहाँले उद्योगी तथा व्यवसायीहरुले उद्योगमा लगानी गर्न खोज्दा समेत पुँजी अभावको समस्या भोग्नु परेको बताउनुभयो । अग्रवालले लगानी गर्ने पुँजी समेत नपाउँदा निजी क्षेत्रको मनोबल कमजोर भएको बताउनुभयो ।

अध्यक्ष अग्रवालले नेपालमा आन्तरिक र बाह्य लगानी प्रवद्र्धनका लागि नीति निर्माताको सोच नियन्त्रणमुखी नभएर खुला र सहजीकरण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो ।