११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


काठमाडौंमा पुनः मतगणना गर्न माग


32.994k
Shares

काठमाडौं । काठमाडौं महानगरमा पुनः मतगणना गर्न माग गर्दै निवेदन परेको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुभएको छ ।

काठमाडौं महानगरपालिकामा कलम चिह्नबाहक आफूले उपमेयर पदमा र रुख चिह्न बाहक कांग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको उल्लेख गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्न पर्न र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिन्ह पाउने कानुनी व्यवस्थाको आलोकमा दफा ५१(१)(ङ) लाई हेरि व्याख्या गरिनु पर्ने उहाँको जिकिर छ ।

यसरी उम्मेदवारी परी, अन्तिम भइ, निर्वाचन चिन्ह प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने भन्दै श्रेष्ठले मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिन्ह राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हुने जिकिर गर्नुभएको छ ।

उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत सङ्केत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेकोप्रति उहाँको असन्तुष्टि छ । यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्था देखापरेको श्रेष्ठको दाबी छ ।

प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा आफु उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी पुनः मतगणना गर्नु पर्ने उहाँको निवदेनमा उल्लेख छ ।