
एजेन्सी, वैशाख २ । भारतमा लकडाउन अर्थात् बन्दाबन्दीको आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि थपिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउनको समय मे ३ (वैशाख २१) सम्म थप्ने घोषणा गरेका हुन् ।
यसअघि देशमा जारी लकडाउन थप्नेबारेमा प्रधानमन्त्री मोदीले देशका कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । मुख्यमन्त्रीहरुले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए ।
देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए । उनले आगामी एकसाता लकडाउनलाई कडाइकासाथ लागु गरिने पनि बताए ।
भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको भने ३५८ जनाको मृत्यु भइसकेको छ । भारतले शुरुमै २१ दिनको लकडाउन गरेको थियो ।
मोदीले लकडाउनका समयमा सात नियमको पालनाका लागि अपील पनि गरेका छन् ।
१. ज्येठ नागरिकको ख्याल गरौं
२. सामाजिक दूरीको नियमलाई नतोडौं, घर बनाएको कपडाको मास्क प्रयोग गरौं
३. प्रतिरक्षा प्रणालीमा सुधारका लागि घरेलु उपचार पद्धती प्रयोगमा ल्याऔं
४. सरकारले बनाएको आरोग्य सेतु एप डाउनलोड गरेर कोरोना भाइरसबारेको जानकारी लिऔं
५. गरीब व्यक्तिको हेरचाह गरौं
६. कर्मचारीलाई बर्खास्त नगर्न रोजगारदातासँग अपील
७. चिकित्सक, नर्स, सुरक्षाकर्मी र सफाई कर्मचारी जस्ता कोरोनाविरुद्धका युद्धकर्मीलाई सम्मान गरौं ।
प्रतिक्रिया दिनुहोस्