२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कानून संशोधनका लागि पहल गर्ने महिलामन्त्री रेग्मी प्रतिवद्धता


208
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिका तथा महिलामाथि हुने बलात्कारको मुद्दा अनुसन्धानका लागि आवश्यक कानून संशोधन गर्न आफूले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री रेग्मीले सोमबार सिंहदरबारस्थित महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै महिलामाथि हुने बलात्कारको मुद्दा अनुसन्धानका लागि हदम्याद राख्ने व्यवस्था हटाउन तत्काल कानून संशोधन गर्न आफूले पहल गर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि आफूले मन्त्रालयमा आन्तरिक छलफल गरेर कानून मन्त्रालयसँग तत्काल परामर्श गर्ने योजना पनि सुनाउनुभयो ।

हदम्याद राखेर पीडकलाई लुकाउने र अनि खोज्न पाईएन भनेर विगतमा त्यस्ता अपराधिहरुलाई उन्मुक्ति दिने गरेको उल्लेख गर्दै उहाँले आफू त्यस्ता पीडकलाई संरक्षण हुने खालको हदम्याद जस्ता कानुनी व्यवस्थाको पक्षमा नरहेको पनि पटक पटक दोहोर्‍याउनुभयो । मन्त्री रेग्मीले हदम्याद लगाउने विद्यमान कानूनी व्यवस्थालाई हटाउन अध्यादेशमार्फत् जान उपयुक्त हुने धारणा पनि राख्नुभयो ।

मन्त्री रेग्मीले बलात्कारको मुद्दामा हदम्याद लगाउने कानून संशोधन गर्न आफूले तत्काल नसके साथ दिन पनि समितिका सबै सांसदहरुलाई आग्रह गर्नुभयो ।