
काठमाडौं, बैशाख २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला बडा भन्ने नेताहरुको विलासी खर्चको स्रोत के हो प्रष्ट गर्न माग गरेका छन् ।
कोरोना भाइरस कोषमा दिन भन्दै तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ ? भनेर डा भट्टराईले प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सोमबार मात्र नयाँ वर्षको अवसरमा कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए । आफूले पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले जनाएका थिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले तलबभत्ता पूरै त्याग्ने घोषणा ‘राम्रो’ भए पनि विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ बताउन माग गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले प्रश्न गरेका छन्, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद÷सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने !) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’
प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू( कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?
— Baburam Bhattarai (@brb1954) April 14, 2020
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको, मन्त्रीहरुले एक महिनाको र सांसदहरुले १५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।
यसैगरी सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आफ्नो एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको तलब कोरोना उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्