२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा कांग्रेस पहिलो पार्टी, एकीकृत समाजवादी ७ जिल्लामा निल


572
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक प्रदेशका सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ ।

कांग्रेसले ४० प्रमुख जितेको छ भने ४७ पालिकामा उप–प्रमुख र उपाध्यक्ष जितेर पहिलो पार्टी बन्दा २५ पालिकामा प्रमुख र २४ पालिकामा उप–प्रमुखमा जित निकाल्दै नेकपा (एमाले) दोस्रो पार्टी बनेको छ ।

नेकपा (माओवादी केन्द्र)ले १४ पालिकामा प्रमुख र ११ पालिकामा उपप्रमुख जित्दै तेस्रो दल बनेको छ । ०७४ को निर्वाचनमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो दल थियो ।

चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी भने चौथो शक्ति बनेको छ । उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख र अध्यक्षमा जित हासिल गरेको छ भने तीन वटामा उप–प्रमुखमा विजयी भएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले दुई पालिकामा प्रमुख जितेको छ भने तीन स्थानमा उप–प्रमुख जितेको छ । प्रदेशका दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।

कांग्रेसले दार्चुला, माओवादीले बाजुरा र एमालेले डडेल्धुरा जिल्लामा एउटा पालिका पनि जित्न नसक्दा एकीकृत समाजवादीले भने कैलाली र बझाङबाहेक कुनै जिल्लामा पनि स्थानीय तहको प्रमुख र अध्यक्ष जित्न सकेन ।

यसरी हेर्दा सुदूरपश्चिममा एकीकृत समाजवादी ७ तथा कांग्रेस, एमाले र माओवादी केन्द्र १–१ जिल्लामा निल भएका छन् ।