
काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताउनुभयो ।
उहाँले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवर्द्धन गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।
मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माण, नारायाणी तटबन्ध निर्माणलाई अघि बढाउने र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने उद्घोष गर्नुभयो ।
उहाँले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताउनुभयो । मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्