१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू हुन सकेन

286
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७४४ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अब ९ वटा पालिकाको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा र कटारी नगरपालिका, रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् ।

यस्तै, बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन । बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसले ३२४ पालिका जितेको छ भने नेकपा एमाले २०३ पालिकामा खुम्चिएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले १२१, जनता समाजवादी पार्टी नेपालले ३०, नेकपा एकीकृत समाजवादीले २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमख जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् । सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशिल साझा पार्टीले एक एक वटा स्थानीय तह जितेका छन् ।

धरान, धनगढी, जनकपुर लगायतका १२ वटा स्थानिय तहमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । अहिले मतगणना जारी रहेका ८ पालिका मध्ये कांग्रेस ५, एमाले २ तथा स्वतन्त्र उम्मेदवार एक ठाउँमा अगाडि छन् ।