१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल


130
Shares

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ ।

बुधबार उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो निरश भएको टिप्पणी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताउनुभयो । उहाँले आर्थिक संकटको बारेमा सरकार मौन रहेको बताउनुभयो । उहाँले विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको पनि बताउनुभयो ।

नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उहाँले बताउनुभयो । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उहाँले आरोप लगाउनुभयो ।

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उहाँले निष्पक्ष, भयरहित र स्वतन्त्र बातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताउनुभयो । नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमशल रहेको उहाँले बताउनुभयो । यसले मुलुकलाई कुनै नतिजा दिन नसक्ने उहाँले दाबी गर्नुभयो ।

उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताउनुभयो । आगामी निर्वाचनमा गठबन्धनको पटाक्षप हुने उहाँले बताउनुभयो । आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रमले मुलुकको आर्थिक संकटका कारणहरुलाई चिनेर त्यसको निराकरण गर्नेगरी ल्याउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।