
काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ । यो टिप्पणी लेख्दासम्म उनी गणना गर्न बाँकी मत भन्दा बढीले अग्रता लिइरहेका छन् ।
उता धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ विजयी भए भने जनकपुर उपमहानगरमा पनि स्वतन्त्र मनोज कुमार साहले जित हात पारे । सुदुर पश्चिमको धनगढी उपमहानगरमा गोपाल हमाल विजयी भए । यी लगायत अन्य केही स्थानीय तहका पालिका प्रमुख र वडाहरुमा स्वतन्त्र उम्मेदवार विजयी भए । राजनीतिमा जित हार स्वभाविक हो । लोकतान्त्रिक पद्धतिमा सबैको जितलाई स्वीकार्नु पर्छ । बालेन साह र हर्क साम्पाङको उदय नेपाली जनताको लागि एउटा सन्देश हो भने राजनैतिक दलहरुको लागि एउटा गतिलो सबक हो । उनीहरु यस अघि कुनै पनि राजनीतिक दलमा आवद्ध थिएनन् ।
नेपालका पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले,माओवादी केन्द्र लगायतले जनतालाई सधैभरी आश्वाशन दिइरहे । तर जनअपेक्षा अनुरुप काम गरेनन् । त्यसको परिणाम स्वरुप काठमाडौंका मतदाताले आफ्ना असन्तुष्टि बालेन साह मार्फत पोखे । राजनीतिक दलहरुले जसले जसरी कार्यकर्ता र शुभचिन्तकहरुलाई आश्वस्त पार्न खोजे पनि काठमाडौं महानगरमा उनीहरुले हारेकै हुन् । स्थानीय तह निर्वाचनको परिणामलाई दलहरुले सहज रुपमा स्वीकार्नु पर्छ ।
तर यो नै अन्तिम चुनाव होइन । ५ वर्ष पछि फेरि स्थानीय तह निर्वाचन आउँछ । अहिलेको हारलाई जनताको मन जितेर जित निकाल्न सकिन्छ । किनकि अहिलेको जित सधैभरी स्थिर रहन्छ भन्ने छैन । त्यो आगामी दिनमा बालेनले गर्ने काममा निर्भर रहन्छ । तर जित र हारको अर्थ भने रहन्छ । अब राजनीतिक दलहरुले आत्मसमीक्षा गरेर आ–आफ्ना गल्ती कमजोरी औल्याउन सक्नुपर्छ । किनकि अहिले बालेन साहलाई गएको मत राजनीतिक दलहरुप्रतिको बितृष्णा भनेर विश्लेषण गरिएको छ । यसलाई नेपाली जनताको चेतनाको स्तर बृद्धि जागरुकता भनेर अर्थ लगाउन सकिन्छ । विगतमा उनीहरुले गरेका भोगेका दुःख कष्ट र भविष्यलाइ हेर्दे उनीहरुले वालेनप्रति आश राखेर मत दिएका हुन् । यसले नेपालको राजनीतिप्रति प्रश्न चिन्ह भने उठाएको छ । युवाहरुलाई आश्वस्त पार्न कुनै पनि राजनीतिक दलले सकेनन् । लाखौं युवाहरु विदेशमा गएर आफ्नो श्रम र पसिना बेचिरहेका छन् । उनीहरुलाई देशमै रोजगारीको अवस्था सिर्जना भएको भए आफ्नै देशमा श्रम र पसिना बगाउने थिए । आफ्नो परिवारबाट टाढिएर विदेशिनु पर्ने थिएन । अहिले बालेनलाई मतदानको अधिकार भएका सबै उमेर समूहले पत्याउनु पर्ने अवस्था आउनु राजनीतिक दलहरुका लागि चुनौती हो । किनकि युवाहरुको परिवारमा पनि बुबा,आमा,हजुर बा हजुर आमा,दिदी बहिनी सबै उमेर समूहका परिवारका सदस्य छन् । उनीहरुले यसपटक बालेनलाई रोजेका छन् ।
अब राजनीतिक दलहरुले बालेनले काम गर्न खोजे भने समर्थन र रचनात्मक सहयोग गर्नै पर्छ । देशमा आर्थिक,सामाजिक लगायत धेरै समस्या छन् । ती समस्याको समाधान गर्न दलहरुले समीक्षा गरेर लाग्नै पर्छ । काठमाडौं उपत्यकालाई शिक्षित व्यक्तिहरु बस्ने ठाउँका रुपमा लिइन्छ । उनीहरुले यसपटक निर्वाचनमा बिद्रोह गरेका छन् । यो बिद्रोहलाई राजनीतिक दलहरुले बुझ्न जरुरी छ ।स्वतन्त्र उम्मेदवारी दिएर जितेकारुलाई राजनीतिक दलहरुले असहयोग गर्ने भन्ने हल्ला पनि आइरहेको छ । यदि त्यस्तो हो भने गलत कदम हुनेछ । किनकि जनमतलाई सबैले स्वीकार्नै पर्छ ।
प्रतिक्रिया दिनुहोस्