
पाल्पा । पुरुषको वर्चश्व रहँदै आएको पाल्पामा पहिलो पटक प्रमुख पदमा महिला निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा पाल्पाको एक पालिका प्रमुख र एक वडाध्यक्षमा महिला निर्वाचित भएका हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेकी सरस्वती चिदी बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
५ वर्षे अवधिमा चिदीले विकास निर्माणका योजना लिएर जनताको घरदैलोमै पुग्नुभयो । बगनासकालीका जनता माझ लोकप्रिय बनेकी चिदीले पार्टीमा पनि विनाप्रतिस्पर्धा एकल रूपमै पालिकाको अध्यक्षको उम्मेदवारी हात पार्नुभयो ।
चिदीले गठबन्धन नेपाली कांग्रेसकी उम्मेदवार सुनिता अधिकारीलाई पराजित गर्दै पाल्पाकै इतिहासमा पहिलो महिला अध्यक्ष हुनुभयो । ५ वर्षको अवधिमा बगनासकालीलाई पाल्पाकै नमुना गाउँपालिका बनाउने गरी काममा खटिने अध्यक्ष चिदीको प्रतिबद्धता छ ।
यस्तै, इन्द्रा कुमारी चिदीले पनि पाल्पाको इतिहासमा पहिलो महिला वडा अध्यक्ष हुनुभएको छ । गठबन्धनका पुरुष उम्मेदवार गणेशबहादुर रास्कोटीलाई पराजित गर्दै इन्द्राकुमारी चिदी तिनाउँ गाउँपालिकाको वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो ।
आमा समूहको अध्यक्ष हुँदै नागरिक वडा मञ्चको संयोजक भएर सामाजिक काममा सक्रिय चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा तिनाउँ गाउँपालिका– ५ बाट खुला सदस्यमा निर्वाचित हुनुभएको थियो ।
खुला सदस्यमा निर्वाचित भएकी चिदी जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित भई सामाजिक र राजनीतिक कार्यक्रमा सक्रिय रहनुभयो । महिला सशक्तिकरण बढाउँदै उनीहरूलाई सामाजिक र राजनितिक काममा सक्रिय बनाउने उहाँको प्रतिबद्धता छ ।
यस्तै, सिंचाइको सुविधा प्रदान गरी कृषि उत्पादन बढाउने, ग्रामीण सडकको स्तरोन्नत्ति गरी वर्षायाममा पनि यातायातको नियमित सञ्चालन गर्ने र बस्तीमा बाँकी रहेका घरमा धारा निर्माण गर्ने वडा अध्यक्ष चिदीको प्रतिबद्धता छ ।
संविधानले महिला, दलित, अल्पसंख्यक, पिछडा वर्गलाई प्रमुख पद र राजनितिक जिम्मेवारीमा ल्याउन पालिकाको विभिन्न पदहरू सुनिश्चित गरेको छ । यसलाई राजनितिक दलहरूले इमान्दारीपूर्वक कार्यान्वयन गरेमा धेरै महिला नेतृत्वमा आउने छन् ।
प्रतिक्रिया दिनुहोस्