२४ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025


अमेरिकी विद्यालयमा श्रृंखलावद्ध गाेलीकाण्ड : ३३ करोड जनसंख्या, ३९ करोड हतियार


1.248k
Shares

काठमाडौं । किशोर उमेरका ठिटालाई चकलेट किनेजस्तै पेस्तोल किनवेचको अधिकार दिने अमेरिकी कानुन मानव सभ्यताकै लागि कलंक ठहर्ने गरेको छ ।

अवोध बालबालिका पढ्ने शैक्षिक प्रतिष्ठानमा गएर चलाइने गोलीले एकैछिनमा लासको चाङ थुप्रिने गरेको छ । यो दृश्यले विश्व निशब्द मात्र हुने गरेको छैन, विश्वकै सर्वशक्तिमान अमेरिकी राष्ट्रपति हायलकायल हुने गरेका छन् ।

३३ करोड जनसंख्या भएको अमेरिकामा हाल त्यहाँका नागरिकसँग ३९ करोड हतियार रहेको तथ्याङ्कले देखाउँछ । त्यसो त अमेरिकी नागरिकको संख्याभन्दा हतियार ६ करोड बढी छ । नागरिकलाई सुरक्षाका दृष्टिले सशक्त बनाउने उद्देश्यले गरिएको यो व्यवस्था अहिले अभिषाप सावित भएको छ ।

टेक्ससको एउटा विद्यालयमा भएको श्रृंखलावद्ध हमला पीडादायी बनेर विश्वमै चर्चा पाएको छ । आफना सन्तान शिक्षित बनाएर देशको कुशल नागरिक बनाउने अभिभावकको सपना एउटा बहुलठ्ठी युवाको सन्कीले रुवाबासीमा अनुवाद भएको छ । २१ बालबालिकाले ज्यान गुमाउनु परेको छ ।

घटनापछि अभिभावक छाती पिटीपिटी रोइकराई गरिरहेका देखिन्छन् । टेक्ससमा भएको यो कुनै नोलो घटना होइन । सन् २०१६ मा टेक्ससकै अल्पाइन विद्यालयको भएको गोलाबारीमा एक छात्राको मृत्यु भएको थियो भने सन् २०१८ मा टेक्ससकै सेन्ट फे विद्यालयमा १७ वर्षका एक युवकले गरेको गोलीप्रहारमा १० जनाको अनाहकमा ज्यान गएको थियो ।

अघिल्लो वर्ष टेक्ससकै अर्को विद्यालय टिम्बरब्युमा भएको गोलीकाण्डमा थुप्रै बालबालिका घाइते भएका थिए । त्यहाँ भने मानवीय क्षति हुन पाएन । अमेरिकाका विभिन्न शहरमा भएका गोली काण्डमा परि थुप्रैको ज्यान जाने क्रम बढ्दो छ ।

सन् २०२१ मा न्यु टाउनस्थित सैंडी स्कुलमा भएको गोलीकाण्डमा २६ जनाको ज्यान गएको थियो । त्यसैगरी अमेरिकाकै मिशिगन हाइस्कुलमा भएको गोली प्रहारमा ४ जना बालबालिका मारिए । यी त भए विद्यालय लक्षित गोलीकाण्डका घटना ।

अमेरिकामा सन् २०२२ शुरु भएयता मात्रै २ सय १२ सामुहिक गोलीकाण्डका घटना भयो भने सन् २०२१ मा ६९३ सामुहिक गोलाबारीका घटना भए । जबकि सन् २०१९ मा ४१७ ठाउँमा सन् २०२० मा १० वटा बिद्यालयमा गोलीकाण्ड भएको तथ्याङ्कले देखाउँछ ।

अमेरिकाको गन एक्ट कानुनी आधारमा अमेरिकी संविधानमा उल्लेख भएअनुसार राइफल वा कुनै साना हतियार खरिदका लागि उमेरहद १८ वर्ष, ह्यान्डगनका लागि २१ वर्ष उमेर हद कायम गरिएको छ ।

अमेरिकाको गन भ्वाइलेन्स आर्काइभले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार विगत पाँच वर्षमा अमेरिकामा एकसय वटा विद्यालयहरूमा गोलाबारी भएका छन् । हतियार खरिद सम्बन्धी कानुन परिमार्जन नगर्ने हो भने आगामी दिनमा यस्ता घटना झन्झन बाक्लिँदै जाने निश्चित छ ।

एजेन्सीकाे सहयाेगमा