
काठमाडौं । सरकारी काम, कहिले जाला घाम । यो आहान सरकारी कर्मचारीको कार्यशैली हेरेर जन्मिएको हो ।
ढिलासुस्ती, कमजोर इच्छाशक्ति, कामचोर र स्वामित्व नलिने प्रवृत्तिका कारण सरकारी कर्मचारी तारो हुने गरेका छन् ।
पटक–पटक भएका राजनीतिक परिवर्तनले कर्मचारीको कार्यशैलीमा परिवर्तन ल्याउन नसकेको आक्षेप उनीहरूसँगै कार्यानुभव गरेका राजनीतिकर्मीले लगाउने गरेका छन् ।
तिनै कर्मचारीमा कार्यचुस्तता र सरकारी खर्चमा मितव्ययिता ल्याउन भनेर जेठ महिनादेखि हप्ताको दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेपनि त्यसको प्रभावकारिता भने देखिएन ।
मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार पुग्दा न त कर्मचारीहरुले बिहान साढे ९ बजे आइपुगेर काम सुरु गरेका थिए न साँझ साढे ५ बजेसम्म कार्यालयमा बसेका थिए । समयमा कार्यालय नआए पनि उनीहरू दुई दिन बिदा दिने निर्णय सकारात्मक ठान्छन् ।
सरकारी स्रोत साधन कडाइका साथ उपयोग गर्न संयन्त्र लाग्ने हो भने अन्तर्राष्ट्रिय अभ्यासमा रहेको यो प्रचलन अनुचित नरहेको कर्मचारीको ठम्याइ छ । यसका लागि सरकारी गाडी प्रयोगको अनुशासन पूर्णत लागू हुनुपर्ने उनीहरूको सुझाव छ ।
विश्व श्रम संगठन आईएलओको महासन्धी ४७ ले श्रमिकको हकमा ४० घण्टाको आधारभुत कार्यालय तोकेको छ । अध्ययन गरिएका विश्वका १२७ मध्ये ११६ मुलुकमा हप्तामा ३ दिन विदा दिने चलन रहेको छ ।
एशिया महादेशका ४३ मध्ये ३८ मुलुक अर्थात ८८ प्रतिशत मुलुकमा ५ दिन नै कार्यालय समय कायम गरिएको छ । दक्षिण एशियामा नेपाल मात्रै हप्तामा एकदिन छुट्टी दिने देशमा पथ्र्यो ।
प्रतिक्रिया दिनुहोस्