१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो : अध्यक्ष ओली


2.834k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको टिप्पणी गर्नुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पार्टीको संसदीय दलको बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले अरु दलमा नदेखिएको अन्तरघात एमालेभित्र देखिएको बताउनुभयो ।

अध्यक्ष ओलीले पार्टीभित्र घात गर्न कहाँबाट सिकेको भन्दै यस विषयमा बृहत समीक्षा गरिनुपर्ने बताउनुभयो । केही सीट घटे पनि पपुलर मत नघटेकाले एमाले हारेको भन्न नमिल्ने उहाँको तर्क थियो । एमालेले ठुलो घेराबन्दी र प्रतिकुलताका बिच निर्वाचनमा सामेल हुनुपरेकाले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको बास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको थियो । अध्यक्ष ओलीले हालै अमेरिकी उपविदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठिक भएको बताउनुभयो ।

उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको अध्यक्ष ओलीको निष्कर्ष रहेको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थित, तर्कयुक्त र ढंगले संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभयो ।