५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


युक्रेनी योद्धाहरुप्रति समर्पित एउटा सगरमाथा आरोहण


481
Shares

काठमाडौं । ३३ वर्षीया युक्रेनी महिला एन्टोनिना सामोइलावाले यही मे १२ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन । आफ्नो देश रसियासँगको युद्धमा जुधिरहँदा नेपालमा आएर सगरमाथाको आरोहण गरेर एन्टोनिनाले विश्वलाई शान्ति सन्देश दिएकी छन् ।

उनले सगरमाथामा युक्रेनको झण्डा फहराउँदै मुलुकको रक्षाका लागि लडिरहेका योद्धाहरुको हौसला बढाउन प्रार्थना पनि गरिन् । रुससँगको युद्ध मोर्चामा उनकै बाबु र भाइ पनि डटिरहेका छन् । आरोहणपछि काठमाडौं आएकी एन्टोनिनाले इमेज च्यानलसँग आफ्ना अनुभवहरु साटेकी छन् । नेपाल सुन्दर देश हो भन्दै उनले यहाँका हिमालहरु आफ्ना लागि प्रेरणाको स्रोत रहेको बताइन् ।

सगरमाथा आरोहणमार्फत विश्वमा शान्तिको सन्देश दिएको एन्टोनिना बताउँछिन । सगरमाथा आरोहण देशको सीमाका लागि लडिरहेका युक्रेनी योद्धाहरुप्रति समर्पित रहेको उनको भनाइ छ । रेसलर बुबाको छोरी एन्टोनिनामा बच्चैदेखि खेलकुदप्रति आकर्षण थियो । चार वर्षदेखि हिमाल आरोहणमा होमिएकी उनी पुनः नेपाल आएर बाँकी हिमाल चढ्ने धोको संगालेकी थिइन् ।

नेपालको सभ्यता, कला र संस्कृति अद्धितिय रहेको भन्दै एन्टोनिनाले भगवान बुद्धको शान्ति सन्देश विश्वमा उत्तिकै सान्दर्भिक रहेको बताइन् । गोलाबारुदको मुस्लोले छोपिएको मुलुक जहाँ हजारौं व्यक्तिको मृत्युसँगै लाखौ व्यक्ति ज्यान जोगाउन भागेका छन् । त्यही देशकी चेलीले विश्व शान्ति र युद्धमा डटिरहेका आफ्ना देशका योद्धाहरुको प्रार्थनाका लागि गरेको सगरमाथा आरोहणले देशभक्ति कति महत्वपूर्ण रहेछ भन्ने दर्शाउँछ ।

नेपालले यो सिजनमा सगरमाथा आरोहणका लागि ३ सय ४० जनालाई स्वीकृति दिएकोमा ८० प्रतिशतले सफल आरोहण गरिसकेको पर्यटन विभागले जनाएको छ ।