८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


निर्वाचन निश्पक्ष नभएको ओलीको आरोप, सरकारले एमालेकै नीति अंगालेको जिकिर


156
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष ओलीले गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको जिकिर गर्नुभयो ।

सत्तापक्षको धाँधलीले गर्दा १४ दिनसम्म पनि परिणाम आउन नसकेको भन्दै उहाँले गठबन्धनले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम कुनै गन्तव्य नभएको बताउँदै चास्नीमा नडुबाएको जेरिजस्तो रहेको टिप्पणी गर्नुभयो ।

विगतमा एमालेलगायतका दलले ल्याएको नीति र कार्यक्रमलाई कांग्रेसले सुरुमा विरोध गर्दै आएको र पछि गएर त्यसैलाई अँगाल्ने गरेको ओलीको भनाइ थियो ।

उहाँले एमालेले अघि बढाएका नीति तथा कार्यक्रमलाई सुरुमा विरोध गरेर पछि त्यसैलाई काँग्रेसले अँगालेको भन्दै हिम्मत भए हटाउन चुनौती दिनुभयो ।

कांग्रेससँग सत्ताभोग केन्द्रित नीतिबाहेक देश र जनताका लागि कुनै नीति र कार्यक्रम नभएको उहाँको जिकिर थियो ।

नीति सत्तामा पुग्ने, कार्यक्रम सत्ता टिकाउने रहेको भन्दै अध्यक्ष ओलीले अर्काको गुँडमा अण्डा पारेर चल्ला कोरल्न कांग्रेस पोख्त देखिएको टिप्पणी गर्नुभयो ।

चुनावमा जित÷पराजित स्वाभाविक कुरा भए पनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेर लागेको भन्दै सिध्याउँछु भन्ने हक कहाँबाट आयो भनि प्रश्न गर्नुभयो ।

नेकपा एमाले सशक्त प्रतिपक्ष भएको र छिट्टै सरकारमा आउन सक्ने अध्यक्ष ओलीको दाबी थियो । उहाँले प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले अमेरिकी सहायकमन्त्रीले हालै नेपालका गुम्बाको भ्रमण गरेकोमा आपत्ति जनाउनुभयो । आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको प्रसंग सुनाउँदै उहाँले कसको पक्ष र विपक्षमा इजाजत दिएको भनी सरकारसँग प्रश्न सोध्नुभयो ।

एउटा सहायक विदेशमन्त्री आउँदा काँप्ने सरकारबाट स्वाधिनताको रक्षा हुन नसक्ने उहाँको ठोकुवा थियो । अध्यक्ष ओलीले नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै छद्म नीति नलिन आग्रह गर्नुभयो ।

उहाँले नेपाल एक चीन नीतिमा छ कि छैन भनेर प्रधानमन्त्री देउवासँग जवाफ माग गर्नुभयो । ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याउने कार्यक्रम नराखेको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो को कि होइन भनि सरकारसँग प्रश्न गर्नुभयो ।