
काठमाडौं । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।
मेयर धनराज आचार्यले बिहीबार पदभार ग्रहणपछि पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
व्यक्तिगत घटना दर्ता कार्यलाई सहज र सर्वसुलभ बनाइने, न्यून आय भएका नागरिकलाई वडा समितिको सिफारिसमा आवश्यक बजेटको व्यवस्था मिलाई कार्यक्रम स्वीकृत गरी पोषण भत्ता वापत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय मेयर आचार्यले गर्नुभयो ।

महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउने, महानगरका अपांगता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम संचालन गर्ने निर्णय पनि उहाँले गर्नुभयो ।
यस्तै, आचार्यले पोखराको मौलिक संस्कृति झल्किने पोखरा स्मारकको थ्रिडीसहितको डिजाइन बनाइ पेस गर्नेसम्बन्धी प्रस्ताव स्वीकृति गरी खरिद प्रक्रिया अघि बढाउने निर्णय गर्नुभयो ।
पोखरा सभागृहमा आयोजित सपथग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमप्रसाद आले, गण्डकी प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्