
नारायणप्रसाद भण्डारी
अन्ततः जीवनरक्षा र अस्तित्वको प्रश्नमा अन्य सबै सवालहरू तपसिलमा पर्छन् भन्ने कुरालाई अहिलेको महामारीले थप प्रस्ट्याएको छ । खतरनाक कोरोना भाइरसको विश्वव्यापी फैलावटले जीवनप्रतिको दृष्टिकोणमा पनि केही बदलाव आउन थालेको छ । जीवन र जीवनको सारलाई हेर्ने आँखीझ्याल फेरिएको भान भएको छ । उपभोक्तावादी संस्कृतिले उक्साएको भौतिक सुखभोग, सुविधामोह र द्रव्य आर्जनको तँछाडमँछाडमा समेत विचलनका केही सङ्केत देखा पर्दैछन् । अहिलेको यो कालरात्रि विगतमा मानिसले गरेको प्रकृतिमाथिको भद्दा मजाक, अन्याय र जवर्जस्त दोहनविरुद्धको प्रतिक्रिया र परिणति पनि हो ।
विज्ञान र प्रविधिको एकलकाँटे साम्राज्यले आफ्नो तुच्छ स्वार्थ सिद्धि र विकासको जात्रा देखाउने लहडमा पृथ्वी नै छियाछिया भइसकेको छ । सबै शक्तिको हर्ताकर्ता सम्झेको मानिसको बोक्रे रवैयाले आफैँलाई विनाशकारी खाल्डोतर्फ घचेट्दैछ । प्रकृतिको सन्तुलनलाई विथोलेर करोडौं जीवनकलाई हाहाकार मच्चाएको मानिसले अक्षम्य अपराध गरेको छ ।
लाखौँ जीवको अस्तित्व मेटेको सोही मान्छेलाई आज अति सूक्ष्म भाइरसले निलिरहेको छ । अन्य प्राणीको समेत सेवा गरेर प्रकृतिको संरक्षण र पूजा गर्ने अभिभारा पाएको मानव आफ्नै बुद्धिवर्कतको दुरुपयोग गरी सृष्टिबाटै पलायन हुने यात्रा तय गरिरह्यो । मानव अधिकारका चर्का नारा लगाउने मानवतावादीहरू जैविक अस्तित्वमाथि नै धावा बोल्नेका विरुद्ध भने चुइँक्कसम्म बोलेनन् ।
आडम्बरको बर्को ओढेका केही बहुलठ्ठकहरूको अहम् तुष्टिका लागि सिङ्गो मानव समुदायले पटकपटक उच्च मूल्य चुकाउनुपरेको छ। जतिसुकै हठी, दम्भी र घमण्डी भए पनि मृत्युसँग भने हरेक मान्छे झुक्दो रहेछ, हार्नुपर्दो रहेछ । हरेक कुराको आफ्नो सीमा भएझैं प्रकृति पनि सहनशीलताको पराकाष्ठामा पुग्यो होला । आफ्नो सन्तुलन मिलाउन बेलाबखत यस्ता क्रिया प्रतिक्रिया जनाइरहन्छ ।
हुन त प्रकृतिको आफ्नो नियमित जीवनचक्रले पनि समयसमयमा विभिन्न प्रकोप, उत्पात र वितण्डा मच्चाइरहेकै हुन्छ तर त्यसमा मानवीय कारण पनि कम्ती जिम्मेवार छैनन् । अहिलेको विश्व राजनीति, अर्थनीति, साँस्कृतिक मान्यता, संस्कार, सभ्यता, जीवनशैलीलगायतका विभिन्न आयाममा फेरि एकपटक संशोधन, परिमार्जन तथा नवनिर्माणको आवश्यकता देखिएको छ । मानिसले पनि आफ्नो सीमाबोध र धर्मबोध गर्न सक्नुपर्छ । मानिस मानवतावादी मात्र भएर पुग्दैन, प्रकृतिमैत्री र सम्पूर्ण जीववादी बन्नुपर्छ । किनकि मानिसमाझैँ अन्य जीवमा परोपकारभाव र सुद्धिचेत छैन ।
प्रकृति खल्बलिनु भनेको हाम्रो जीवन तथा अस्तित्व समेत भस्म हुनु हो । त्यसैले प्रकृतिमुखी भएर मात्रै हाम्रा समग्र क्रियाकलाप सञ्चालित हुनुपर्छ । बेलाबेला प्रकृतिले देखाउने अनिष्ट धक्काको सामना गर्न सकिने गरी हाम्रो जीवनशैली, विकासविधि, अर्थनीतिको जग तय गरिनुपर्यो । जसबाट यस्ता संकटका विभिन्न शृङ्खला छिचोल्न सकियोस् ।
तर अफसोच ! इतिहासमा मानिसले प्रकृतिद्रोही, गद्दारी क्रियाकलापबाट कैयौँ भीषण दुर्घटना भोगे पनि त्यसबाट कहिल्यै सवक लिएन । अहिले साम्राज्यवादी, नव औपनिवेशवादीदेखि विस्तारवादी शक्ति समेत कोरोनाको कहरबाट आक्रान्त छन् । अन्तरिक्षदेखि चन्द्रमासम्म उक्लिएको सिपले कोरोना रोकथामबारे केही भेउ पाएको छैन । यो जँघारबाट पार लाग्न घरमै गुँडुल्किनुबाहेकका उपायमा सिद्धहस्त चिकित्सक र वैज्ञानिक नै अहिलेसम्म अक्क न बक्क छन् । प्रविधि र विज्ञानमा उल्लेख्य सफलता हात पारिसकेका मुलुकहरू पनि जीवनशैली, खानपान, संस्कार आचरणमा ध्यान नदिँदा चुक्नुपरेको छ । किरा, फटयांग्रादेखि मुसा, सर्प भ्यागुतासम्मका भेटेजति जीवको भक्षण गर्नुलेपनि यस्ता रोगको आयातदर बढेको देखिन्छ । अहिलेको चोट र धक्काबाट मानिसले विगतको भूलसुधार गर्यो भने यो समय नयाँ विश्वव्यवस्थाको कोशेढुङ्गासमेत बन्ने देखिन्छ
खुसी र सन्तुष्टिको खोजीमा अनेकतिर भौतारिइरहँदा आफैभित्र रहेको आनन्दको अजस्र स्रोत भने ठम्याउन सकेनछौँ । सुखी भए पनि खुसीको कलाबारे हेक्का नै भएनछ । भौतिकवादी संसारका रहस्य खोदलखादल गर्दागर्दै आध्यात्मिक चेतनाको विराट संसारमा प्रवेश नै गरेनछौँ । त्यसैले त सबै भएर पनि केही नभएको बुङ्गोजस्तै भएछौँ ।
जीवनको आध्यात्मिक पाटो पहिल्याउन नसक्दा मानिस मानसिक चिन्ता, आत्मिक छट्पटी, नैराश्य, उद्विग्नताको पतन यात्रामा धकेलिएको छ । तसर्थ पाइला पाइलामा हारिरहेको जीवनले अब अर्कोतिर पनि ध्यान दिन जरुरी छ । अध्यात्म र विज्ञानको समन्वयात्मक अभ्यास नै अहिलेको युगीन माग हो । यसबाट स्वर्णीम समयको पटाङ्गिनी छिटै उघ्रिनेछ ।
हामी नेपालीहरूका लागि पनि भविष्यका केही आशालाग्दा अवसर र सम्भावनापनि टुसाएका छन् । स्वदेशी भूमिमै पसिना, पुँजी र समयको लगानी गर्नुपर्ने बाध्यात्मक अवसरसमेत जुरेको छ । भोक मेटाउने भोजनका उत्पादनखानीहरू वर्षौँदेखि बाँझिएर जखरिएका छन् । झारपात उम्रेका पाखापखेरा, सुरक्यान तथा गराहरुलाई कुटो कोदालाले ठुँग्नेछन् र त्यहाँ हराभरा हुनेछ । चकमन्न बनेका उराँठलाग्दा बस्तीहरुमा फेरि नयाँ चहलपहल छाउनेछ । हरितन्नम बनेका स्वेदेशी उद्योगले नवजीवन पाई राष्ट्रिय,अन्तर्रा्ष्ट्रिय बजारको माग धान्नेछन् । हजारौंको संख्यामा रहेका प्राकृतिक, तथा मानवीय सम्पदाहरू विश्वका पर्यटकको आकर्षणकेन्द्रमा विकास हुनेछन् । जलसम्पदाको विकासले आफ्नो विशाल वैभव प्रदर्शन गर्नेछ । विकासको स्वदेशी शैली तय हुनेछ ।
भाषा, संस्कृति, संस्कार, मानवतावाद अझ घनीभूत भएर मौलाउने छ । गुम्न लागेको मुलुकको मौलिक पहिचान, सांस्कृतिक धनराशी र सभ्यताको वैभव नवोदित हुनेछ । यो एउटा सम्भावना हो । त्यसको लागि अहिलेको नेतृत्वले वर्तमानका अभिभाराको बहन गर्ने कुशलता प्रदर्शन भने गर्नैपर्छ । तत्कालीन अवस्थामा भने धैर्य,संयम, सन्तुलन नगुमाई आफूलाई सुरक्षित गरौँ । अहिलेको खाली समय सकेसम्म सिर्जनात्मक र रचनात्मक कर्ममा लगाऔं । विश्वव्यापी बनेको कोरोनाको कहरबाट सबैले छिटोभन्दा छिटो उद्धार र त्राण पाइयोस् यहीँ कामना ।
प्रतिक्रिया दिनुहोस्