१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन साहकाे जीवनी यस्ताे छ


8.554k
Shares

काठमाडाैं । स्थानीय चुनावको चर्चा परिचर्चासँगै काठमाडौं महानगरमा दाह्री पालेको एउटा जागरिलो ठिटोको उदय भयो ।

४० लाख जनसंख्या, मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको प्रमुख बन्ने लक्ष्य सार्वजनिक भएलगत्तै त्यो खबर धेरैका लागि उडन्ते लाग्यो । मूलधारका राजनीतिक पार्टीहरुको दबदबा चलिरहेको समकालीन राजनीतिलाई चिरेर भारी मतान्तरका साथ त्यही युवालाई काठमाडौंवासीले आफ्नो भाग्य र भविष्य सुम्पिएका छन् ।

चमत्कार भन्ने चीज कसैको जीवनमा लागू हुन्छ भने त्यसको ज्वलन्त उदाहरण हुन–बालेन्द्र साह (बालेन) । असम्भव लाग्ने कथा बुन्न सिपालु हिन्दी सिनेमाको हिरो पात्रलाई समेत चुनौती दिने शैलीमा उनी राजनीतिका नायक बन्न सफल भएका छन्। हुन त संघर्षमा नभई सफलतामा मात्र सबैको आँखा पुग्छ । बालेन्द्र त्यही पात्र हुन, जसले पाँच वर्षअघि कसैलाई मत नदिएर आफू त्यो पदमा पुग्ने संकल्प गरेका थिए । बालेन्द्रभित्र अनेकथरी प्रतिभाका पात्र हुन् । पेशाले कुशल ईन्जिनियर उनी सोखले उम्दार्यापर हुन् । कवि, साहित्य मात्र हैन, अभिनयको रसमा पनि उत्तिक्कै भिजेका छन् ।

चुनावी अभियानमा पनि उनीसँग भीड थिएन, एजेण्डा थियो । पैसा थिएन, युवाहरुको सपना थियो । बालेन्द्रले तीनै युवाहरुको सामथ्र्यलाई चुनावी मिसाइल बनाए । उनले पाएको चुनाव चिन्ह लौरोको लाक्षणिक उपयोगितालाई उनले सहज र सरलसँग अथ्र्याइदिए । ज्येष्ठ नागरिकलाई सत्मार्गमा डोर्याउने र व्यभिचारीलाई सुम्ल्याउने हिसावमा लौरोको बखान गरियो । आफू अग्लिन अरुलाई होच्याउने परम्परा विपरीत उनले सबैलाई श्रद्धा बाडेर नै सफल हुन सकिन्छ भन्ने अमर सन्देश प्रवाहित गरे। जुन नेपालको राजनीतिमा एउटा नयाँ प्रयोगसँगै नजिर बन्यो ।

बालेन्द्रको लोकप्रियता यसरी चुलिदै गयो कि उनले लगाएको कालो चस्मा र थरिथरिका कोट फेसनकै ब्राण्ड बन्यो । गलामा भिरेको राष्ट्रिय झण्डालाई महानगरवासीले देशप्रेमको अभिव्यक्तिका रुपमा बुझे । उनले नारा आश्वासन बाँडेनन् । त्यही इमानलाई स्थानीयले बुटी मानेर उनलाई प्रचण्ड मतकासाथ अनुमोदन गरिदिए । आमा धु्रवदेवी साह र बुबा डा.रामनारायण साहका छोरा बालेन साह ३२ वर्षअघि काठमाडाैंमा जन्मिएका हुन् । उनले ६५ देशको भ्रमण भ्रमण गरेका छन् । तराई मूलका उनले सिर्जना काफ्लेसँग विवाह गरेका छन् । ०७२ सालको भुकम्पपछिको पुर्ननिर्माणमा बालेनको ईन्जिनीयरिङमा देशका ६० बढी जिल्लामा पुननिर्माणको काम भएको छ ।

महानगरको पिताका रुपमा अब बालेन्द्रको अग्निपरीक्षाक सुरु भएको छ । कर्तव्यसहितको उत्तरदायित्व आफैंमा बोझिलो छ। दशकौंदेखि एउटै ढर्रा र राजनीतिक सिण्डिकेटमा चलेको महानगरभित्रको फोहोर बढारेपछि मात्र नयाँ पुस्ताको सपना साकार हुने देखिन्छ । लाखौं महानगरवासीका म्यानेजर हुन उनी । न उडन्ते गफ गर्ने छुट छ, न अरुलाई दोष थोपरेर उम्कने सुविधा नै । साना र अर्थपूर्ण कामको जागरले बालेन्द्र भावी यात्रा तय गर्ने भएकाले यसतर्फ सचेत हुन आवश्यक छ।

उनको सफलतासँग बालेन्द्रहरु जन्मिने या मुर्झाउने अवस्था निर्धारण गर्नेछ ।