२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


तिलोत्तमाको मेयरमा कांग्रेसका खाँण र उपमेयरमा एमालेकी चौधरी विजयी


260
Shares

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरीदेवी चौधरी विजयी हुनुभएको हो ।

नेकपा एमालेका मोहन चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित हुनुभएको हो ।

तिलोत्तमामा खसेको ६४ हजार ७ सय २० मतमध्ये कांग्रेसका खाँणले २४ हजार ३९६ मत ल्याउनु भएको छ । भने एमालेका चापागाईंले २३ हजार ६३१ मत ल्याउनुभएको छ ।

खाँण गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ हुनुहुन्छ ।

त्यस्तै, उपमेयरमा भने फराकिलो मतान्तरसहित एमालेकी चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार ८६ मत प्राप्त गरी उपप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभयो ।

तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

१७ वडा रहेको तिलोत्तमा नगरपालिकामा कांग्रेस र माओबादीको तालमेल थियो । १७ वटा वडा मध्ये ९ वटा वडाको अध्यक्षमा कांग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जितेका छन् ।

नवनिर्वाचित मेयर रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।