१७ फाल्गुन २०८१, शनिबार | Sun Mar 2 2025


निर्वाचन आयोगको निर्णयको विरोधमा बाजुरामा आन्दोलन, सर्वोच्च जाने तयारी


780
Shares

कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णयविरुद्ध बाजुरामा विरोध सुरु भएको छ ।

असार ३० गतेको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेको थियो । जनमतविरुद्ध निर्वाचन आयोग निर्णय गरेको भन्दै एमालेले अनिश्चित कालका सडक अवरुद्ध गरेको छ ।

अहिले बाजुरा प्रवेश गर्ने एक मात्र साफे–मार्तडी सडक अवरुद्ध गरिएको एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । देशभरी नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।

महान्यायाधिवक्ता खम्बबहादुर खातीका सहोदर दाजु रङ्ग खाती कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बन्नुभएको छ । उहाँलाई विजयी गराउने उद्देश्यले निर्वाचन आयोगले निर्णय गरेको उहाँको आरोप छ ।

एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने भएको छ । एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह इन्चार्ज कर्ण थापाले आयोगको निर्णय न्यायोचित नभएको भन्दै अदालत जाने बताउनुभयो ।

निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ । कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुन मतदान गर्ने निर्णय गलत रहेको बताउनुभयो ।

बुढिगंगाका १० वडामध्ये कांग्रेसले ४ र ७ नम्बर वडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ । यहाँ ९९ प्रतिशत मतदान भएको थियो । यस पनि बुथ कब्जा गरेको आरोप पुष्टि हुने एमालेको आरोप छ ।

कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ । तर, १, ६ , ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन् ।

विवाद बढेर मतगणना हुन नसकेपछि विवादबारे अध्ययन गर्न निर्वाचन आयुक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो । उनीहरूको रायका आधारमा आयोगले निर्णय गरेको हो ।