१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गेटा मेडिकल कलेज सञ्चालनकाे माग, करिव ६ अर्ब बजेट चाहिने


312
Shares

काठमाडौं । कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका लागि सरकारले नीति तथा कार्यक्रममा नराखेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

पूर्वाधार निर्माणको ९० प्रतिशत काम सकिँदा पनि कलेज सञ्चालनमा वेवास्ता गरिएको स्थानीयले दवाव र आन्दोलन सुरु गरेका छन् । सरकारले गेटा मेडिकल कलेजलाई ध्यान दिनुको साटो डडेल्धुरामा नयाँ मेडिकल कलेज खोल्ने नीति लिएको छ ।

निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ । गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समिति अत्तरियाले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको हो ।

यस्तै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, विभिन्न नगरपालिका प्रमुखहरूलाई समेत ज्ञापनपत्र बुझाउँदै सञ्चालनको लागि दवाव दिइएको गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे बताउनुहुन्छ ।

ज्ञापन पत्रमा तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अगाडि बढाउनुपर्ने उनीहरूको माग छ । मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्ने समितिका सह–संयोजक आनन्द भट्ट बताउनुहुन्छ ।

कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनमा आए, सुदूरपश्चिमको स्वास्थ्य तथा शिक्षामा ठूलो क्रान्ति आउने विश्वास यहाँका नागरिकले गरेका छन् । मेडिकल कलेज सञ्चालनमा आएपछि उपचारका लागि निजी तथा अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य हुने अत्तरिया अस्पतालका डा. नरबहादुर मौनी बताउनुहुन्छ ।

कैलालीको गेटामा २०७३/०७४ बाट निर्माण सुरु भएको मेडिकल कलेजको ९० प्रतिशत काम पूरा भएको छ । तर, अस्पतालका लागि आवश्यक उपकरण, फर्निचर र जनशक्तिको व्यवस्थापन भएको छैन ।

सरकारले मेडिकल कलेजको प्रारुपको टुंगो नलगाएकाले उपकरण र जनशक्ति व्यवस्थापनमा पनि समस्या देखिएको हो । उपकरण खरिद तथा जडान, फर्निचर खरिद र जनशक्ति व्यवस्थापनका लागि कलेजले ५ अर्ब ९० करोड रुपैयाँ बजेट माग गरेको छ ।