
काठमाडौं । काठमाडौं महानगरका मतदाताले प्रमुख र उपप्रमुखमा युवा नेतृत्व छान्दा ललितपुरबासीले भने पाका व्यक्तिलाई आफ्नो महानगरीय अभिभावक दोहोर्याएका छन् ।
नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले भोट माग्ने क्रममा कुनै महत्वाकांक्षी योजना नल्याएको बताउनुभयो । दोस्रो कार्यकालमा जनचासोका सानाभन्दा साना विषयमा आफ्नो ध्यान जाने उहाँको भनाइ छ ।
महर्जनले काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र शाहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाहको प्राविधिक दक्षता र आफ्नो व्यवस्थापकीय अनुभवको रसायन मिलाएको स्थितिमा दुवै महानगरले फाइदा लिने उहाँको भनाइ छ ।
महर्जन र शाहले एक अर्काप्रति अगाध श्रद्धा र प्रेम रहेको धारणा विभिन्न सञ्चारमाध्यममा भन्दै आउनुभएको छ । यही रसायन काठमाडौंका निर्वतमान मेयरसँग किन मिलेन त ? महर्जनको रमाइलो उत्तर छ- ‘उहाँसँग के कति कारणले भएन भन्ने कुरा बिर्सेँ मैले ।’
सांस्कृतिक र ऐतिहासिक नगरी पाटनलाई सफा, सुन्दर र बस्न योग्य स्मार्ट सहर बनाउने जनप्रतिनिधिका स्थायी नारा रहँदै आएका छन् ।
दोस्रो कार्यकालमा अघिल्लो पटक सङ्गालेको अनुभव प्रयोग गरी शुरु भएका योजना सफल बनाउने महर्जनको भावी मार्गचित्र छ । महानगरबासीको दैनिकी सहज र सरल बनाउन महानगर नेतृत्व अर्जुनदृष्टिसाथ अघि बढ्ने उहाँको प्रतिवद्धता छ ।
स्थानीय तहको निर्वाचन २०७९ को मतगणना हुँदै गर्दा ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर महर्जनले काठमाडौका नव निर्वाचित मेयर बालेन शाहसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै आउनुभएको थियो ।
ललितपुर महानगरबासी भने नवनिर्वाचित आफ्ना जनप्रतिनिधिहरूले स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच आफूहरूको पहिलो र अन्तिम इच्छा रहेको उनीहरूको भनाइ छ ।
चारदशकअघि वडाध्यक्ष भएर राजनीतियात्रा आरम्भ गरेका चिरिबाबुका लागि यो अर्को अग्निपरीक्षा हो । भाषण हैन, काम बोल्ने जनप्रतिनिधिमा मतदाताको भरोसा रहन्छ ।
त्यसैले राजधानीको ऐनाका रुपमा रहेको सांस्कृतिक नगरी ललितपुरको ऐतिहासिक साख बचाउन र मतदाताको भरोसा टुटन नदिन सुशासनमा प्रतिवद्ध हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्