३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मन्त्री बडूले बोलेका शब्दहरू अभिलेखबाट हटाउन सभामुखको रुलिङ


455
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबार बसेको पहिलो बैठकमा मन्त्री बडूले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सम्बन्धमा टिप्पणी गर्दा असंदीय शब्द बोलेको भन्दै एमालेले संसद बैठक अवरोध गरेको थियो ।

दोस्रो बैठकको क्रममा सभामुख सापकोटाले एमालेको माग बमोजिम बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘माननीय सदस्यहरु आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा असंसदीय शब्द प्रयोग भएको भनि प्रमुख विपक्षी दलका माननीय सदस्यहरुले नियमापत्ति जनाउनुभएको हुँदा माननीय मन्त्रीले बोल्ने क्रममा प्रयोग गर्नुभएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

सभामुखको रुलिङ पछि संसद बैठक सुचारु भएको छ । सांसदहरुले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल गरिरहेका छन् ।