११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


डब्लुएचओलाई सहयोग रोक्ने ट्रम्पको निर्णयको सर्वत्र आलोचना, अमेरिकालाई नै जोखिम हुने चीनको चेतावनी


0
Shares

एजेन्सी, बैशाख ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्न निर्देशन दिएलगत्तै उनको सर्वत्र आलोचना भएको छ ।

उनको यो निर्णयको अमेरिकाभित्रै पनि आलोचना चुलिएको छ । कोरोना भाइरसविरुद्ध विश्व संघरर्षरत रहेका बेला डब्लुएचओ करिब १५ प्रतिशत हिस्सा ब्यहोरिरहेको देशले सहयोग रोक्न आदेश दिएपछि उनी विवादका घेरामा तानिएका हुन् ।

ट्रम्पले कोरोना भाइरसको महामारी व्यवस्थापनमा डब्लुएचओ चुकेको र ऊ चीनको पक्षपाती भएको आरोप लगाउँदै सहयोग रोक्न निर्देशन दिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

ट्रम्पको घोषणाको संयुक्त राष्ट्रसंघका महासचिवले विरोध गर्दै यो बेला सहयोग रोक्ने वा विवाद सिर्जना गर्नेभन्दा पनि सहकार्य गर्ने समय भएको बताएका छन् ।

उता, चीनले पनि ट्रम्पको निर्देशनको जवाफमा भनेको छ, ‘सहयोग रोकेमा अमेरिकालाई नै जोखिम हुनेछ ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पको घोषणाप्रति चीनको गम्भीर चासो रहेको भन्दै महामारीको अति संकटपूर्ण समयमा यस्तो निर्णय आउनु राम्रो नरहेको र यो अमेरिकाकै लागि पनि घातक हुने टिप्पणी गरे ।

अमेरिकाको सहयोगी रहँदै आएको राष्ट्र जर्मनीले पनि ट्रम्पको निर्णयको विरोध गरेको छ । जर्मनीका विदेश मन्त्री हेइको मासले यो समय आरोपप्रत्यारोपको नभइ महामारीविरुद्ध एक हुनुपर्ने बताएका हुन् ।

संयुक्त राष्ट्रसंघ र डब्लुएचओलाई थप बलियो बनाउँदै कोरोना भाइरसको परीक्षण किट तथा खोपको विकास र न्यायिक वितरण गरिनुपर्नेमा सहयोग रोक्नु ठीक नहुने जर्मनीले उल्लेख गरेका हो ।

यसअघि डब्लुएचओलाई ठूलो रकम सहयोग गर्दै आएका दाता बिल गेट्सले पनि ट्रम्पको घोषणाको आलोचना गर्दै यो निर्णय निकै खतरनाक रहेको टिप्पणी गरेका थिए ।

अमेरिकाकै सेन्टर फर डिजिज कन्ट्रोलले भने आफ्नो सबैभन्दा महत्वपूर्ण सारथी डब्लुएचओ नै रहेको प्रष्ट गरेको छ । अमेरिकन मेडिकल एसोसिएसनले पनि डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गलत दिशामा चालिएको खतरनाक कदम भनेको छ ।

युरोपियन युनियन विदेश नीति प्रमुख जोसेप बोरिलले ट्रम्पको निर्णयको आलोचना गर्दै सबैभन्दा बढी डब्लुएचओको आवश्यकता रहेका बेला उसलाई दिँदै आएको सहयोग रोक्नु औचित्यहीन रहेको उल्लेख गर ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले पनि डब्लुएचओले विश्वास गर्न योग्य सुझाव दिँदै आएको भन्दै सहयोग रोक्ने निर्णयप्रति असन्तोष जनाएकी छिन् ।

उता, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन भने ट्रम्पका पक्षमा उभिएका छन् । ट्रम्पले गरेको आलोचनाप्रति समर्थन जनाउँदै उनले डब्लुएचओले धेरै महत्वपूर्ण काम गरेको उल्लेख गरे । मोरिसनले कोरोना भाइरसको महामारीका सन्दर्भमा चीनलाई आलोचना गर्दै आएका छन् ।