एजेन्सी, बैशाख ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गरेका छन् ।
महामारीको उच्च तह पार गरिसकेका केही राज्य यहि अप्रिल महिनाबाटै खुला हुने आश्वासन पनि उनले दिए । कोरोनाका कारण सबैजसो अमेरिकी राज्य लकडाउनमा छन् ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गरिने जानकारी दिँदै ट्रम्पले भने, ‘हामी चाँडै फर्किँदै छौँ, हामी सबै । हामी हाम्रो देशलाई फेरि सामान्य अवस्थामा ल्याउँछौँ ।’
ट्रम्पले थपे, ‘तथ्यांकहरुले यो बताइरहेको छ कि हामीले देशभर नै महामारीको उच्च तह पार गरिसक्यौं । नयाँ संक्रमणको उच्च तहबाट हामी गुज्रिसकेका छौँ । आशा छ यो क्रम जारी रहने छ र हामीले महामारीविरुद्ध राम्रो प्रगति जारी राख्ने छौँ ।’
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २८ हजार ५ सयभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ ।
३२ लाखभन्दा बढी अमेरिकीले कोरोना भाइरसको संक्रमण रहे–नरहेकोबारे परीक्षण गरेको दबी गर्दै ट्रम्पले भने, यी सबै तथ्यहरुले केही राज्य चाँडै नै सामान्य अवस्थामा फर्काउन मिल्ने देखिएको छ ।
यसअघि ट्रम्पले आउँदो मे १ सम्ममा लकडाउन अन्त्य गर्न सकिने अनुमान सुनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्