
काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।
मेयरमा निर्वाचित भएपछि आयोजित चुनावी सभामा आचार्यले आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिनुभएको थियो ।
‘तपाईंलाई निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिह्न कसरी राखिन्छ भन्ने जानकारी छ, छैन ? मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी प्रति द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण के हो ?’ भनेर आयोगले प्रश्न गरेको छ ।
दल र सरोकारवालाहरूको सहमति तथा विज्ञहरूको राय समेतको आधारमा मतपत्रको डिजाइन भएको र २०७४ सालदेखिको अभ्यास यसपालि समेत प्रयोग गरेको भन्दै निर्वाचन आयोगले मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी विरुद्ध अभिव्यक्ति दिनुको कारण खुलाउन भनेको छ ।
आयोगले कानून बमोजिम बदर भएको मतलाई आयोगको बदनियतले बदर भएको भनी पुष्ट्याइ गर्ने आधार, प्रमाण र कारण मागेको हो । आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई आयोगको निष्पक्षता र विश्वसनीयमाथि नै प्रश्न उठाएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्