२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


कांग्रेस, एमाले र माओवादीले देश खोक्रो बनाए : अध्यक्ष लिङ्देन


1.261k
Shares

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार गरेर देश खोक्रो बनाएको आरोप लगाउनुभएको छ ।

२०४७ सालपछि यीनै दलहरूले आलोपालो देशको नेतृत्व गरेका कारण देशको आर्थिक अवस्था टाट पल्टिएको उहाँले बताउनुभयो ।

शनिबार सुनसरीको धरान राप्रपा नगर समितिले विजयपुरमा आयोजना गरेको शुभकामना तथा बधाइ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशको ढुकुटी रित्तो बनाउने कांग्रेस, एमाले र माओवादीसँग सचेत हुन नागरिकसँग आग्रह गर्नुभयो ।

उहाँले देश लुट्ने कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई सरापेर मात्र नपुग्ने भएकाले उनीहरूलाई भोट हाल्ने जनतालाई पनि सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

देशको नेतृत्व लुटिखानेहरूको हातमा पुगेको भन्दै उहाँले राप्रपाले मात्र देशको रक्षा र सहि नेतृत्व गर्न सक्ने जिकिर गर्नुभयो ।

अध्यक्ष लिङ्देनले देशको ढुकुटी लुटेर भ्रष्टाचार गर्नेहरू आफ्नै आमाको खुन चुस्ने दुष्ट भएको बताउनुभयो । उहाँले धरानमा जनताले राप्रपाको बीउ रोपेर धरान १४ मा वडाअध्यक्षमा कृष्ण भट्टराईलाई विजयी गराएकोमा वडावासीलाई धन्यवाद दिनुभयो ।

लिङ्देनले गाउँमा अझै पनि नेताहरू आउँदा कुन चाहिँ चोर आयो नै भन्ने गरेको प्रसङ्ग दोहोर्‍याउनुभयो । देश लुटने पार्टी कांग्रेस, एमाले र माओवादीका नेताहरू कहिल्यै नसुध्रने भन्दै उहाँले आफ्नो पार्टीमा आउन युवाहरूलाई आह्वान गर्नुभयो ।

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीका नेताहरूलाई सुधार गर्न आगामी प्रदेश र संघको निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभयो । त्यसो भएमामात्र देशमा विकास र समृद्धि आउने उहाँको दाबी छ ।